पर्सा — वीरगन्जस्थित कृषि औजार कारखाना परिसरमा शनिबार बिहानै राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक, युवा, विद्यार्थी, सामाजिक अभियन्ता तथा सुरक्षाकर्मी एकैसाथ पुगे । सशस्त्र प्रहरीको टोली कारखाना परिसरको पश्चिम–दक्षिण कुनामा झन्डै ३ दशकदेखि झाँगिएको घारी सफा गर्न थाले ।
सबैको हातमा झाडु र बेल्चा थियो । कारखानाको भुइँ र उपकरणमा जमेको फोहोर र माकुराको जालो सफा गर्न थाले । भोलिन्टियर्स समूह, वीरगन्ज युवा समाज, हन्ड्रेड ग्रुप, परिवर्तन नेपाल फाउन्डेसन, अपन राधेमाई युवा क्लब, डिप लिटल, पहिलो पाइला, सान्भी फाउन्डेसन, प्रारूप एजुकेसन फाउन्डेसन, गहना युवा क्लब, एलाइड युथ सोसाइटी, इम्प्रुभिङ वीरगन्ज, पिपरा युवा समाजलगायत संघ–संस्थामा आबद्ध युवा उत्साहित भएर सरसफाइमा लागे ।
वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगार्इंले आविष्कार केन्द्रले थालेको यो अभियानलाई सफल पार्न आफूहरू लागेको बताए । ‘वीरगन्जवासीले कृषि औजार र वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको माग वर्षौंदेखि गर्दै आएका हुन्,’ उनले भने । युवा अभियन्ता राजन श्रीवास्तवले सरकारी अकर्मण्यताको कारण ३ दशकदेखि बन्द रहेको कृषि औजार कारखानालाई नयाँ जीवन दिन केन्द्रले अगुवाइ लिएकामा आफूहरू पनि होस्टेमा हैंसे गर्न आएको बताए । कारखाना परिसरमा घाँस काट्दै गरेका ५५ वर्षीय शिवबालक मुखिया भेटिए । ‘२०४६ सालमा ३५ वर्षको उमेरमा स्टोर लेबर पदमा मैले यो उद्योगमा जागिर सुरु गरेको थिए,’ उनले भने, ‘२०५३ सालमा बन्द भयो, मेरो बालबच्चाको मुखमा माड लाग्न गाह्रो भयो, अहिले फेरि उद्योग सञ्चालन हुने भएको छ, म अझै पनि यो उद्योगमा सेवा गर्न चाहन्छु ।’
राष्ट्रिय आविष्कार केन्द्रका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले मंगलबारदेखि काममा खटिएको बताए । ‘६ इन्जिनियर, ६ ओभरसियर र २ जना मेकानिकल टेक्निसियनसहितको टिम काम गरिरहेको छ,’ उनले भने, ‘वीरगन्जका युवाको ठूलो समूह स्वतःस्फूर्त रूपमा हातेमालो गर्न आइरहेको छ, सुरक्षाकर्मी पनि आइरहेका छन्, सोचेको भन्दा कम समयमा उद्योगको सरसफाइ सकिएको छ ।’ उनले केन्द्रको टोली हाल सरसफाइ, मर्मत र लगत तयार गर्ने प्रयोजनले यहाँ आएको बताए । ‘सरसफाइ, मर्मत र लगत संकलनको काम पनि करिब सम्पन्न गरेका छौं,’ उनले भने, ‘अब एक महिनापछि केन्द्रको टोली आएर पुनर्निर्माण सुरु गर्नेछ ।’ उनले करिब सबै उपकरण हाल पनि दुरुस्त अवस्थामै रहेको र केही मात्र बिग्रेकाले उद्योग पुनः सञ्चालन गर्न खासै समस्या नहुने दाबी पनि गरे ।
उद्योगमा कुल ५४ उपकरण रहेकामा तीमध्ये बेन्च ग्रान्डर र प्रेस मेसिन गरी २ वटा उपकरण मात्र बिग्रेको उनले बताए । ‘उद्योगका लेथ र डाई सबै दुरुस्त छन्,’ उनले भने, ‘पेन्टिङ र फाउन्ड्री नयाँ बनाउनुपर्छ, भवनको मर्मत पनि गर्नुपर्छ ।’ इन्जिनियर देवले सिभिल, भवन, विद्युत् र मेकानिकल सबै दृष्टिले यो उद्योगमा थप लगानी गर्नुपर्ने रकम १५ देखि २० करोड रुपैयाँ मात्र रहेको बताए । ‘सरकारले १५ देखि २० करोड रुपैयाँ लगानी गरे यो उद्योग पुनः सञ्चालनमा आउन सक्छ,’ उनले भने, ‘आविष्कार केन्द्रको सरकारसँग भएको सम्झौताअनुसार यो उद्योगमा सरकारकै स्वामित्व र लगानी पनि हुन्छ, केन्द्रले केवल अपरेसन र म्यानेजमेन्टको पाटो मात्र हेर्ने हो ।’ केन्द्रको हालसम्मकै सबैभन्दा ठूलो परियोजना यही भएकाले आफूहरू पनि उत्साहित भएको उनले बताए । उनले कृषि उपकरण स्वदेशमै उत्पादन हुन थाले, त्यसको लाभ किसानलाई नै हुने बताए । यसबाहेक ठूलो संख्यामा स्थानीय युवाले उद्योगमा रोजगारी पनि पाउने उनले बताए ।
९ बिघा ११ कट्ठा क्षेत्रफलमा फैलिएको कृषि औजार कारखाना तथा यसका अन्य भौतिक पूर्वाधारको रेखदेख तथा संरक्षण आधा दर्जन व्यक्तिले गर्दै आएका छन् । सुरक्षा इन्चार्ज मनोहर गौतमको नेतृत्वमा सुरक्षा गार्डको भरमा यो कारखानाको भौतिक सम्पत्ति जोगिएको हो । सुरक्षा इन्चार्ज गौतम कारखाना बन्द हुँदाताका कुल २ दर्जन कर्मचारी रहेकोमा हाल त्यो संख्या घट्दै गएर आधा दर्जनमा सीमित भएको बताउँछन् । तत्कालीन सोभियत संघ सरकारले निर्माण गरिदिएको यो उद्योगको २०२४ फागुन २८ मा राजा महेन्द्रले उद्घाटन गरेका थिए । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउँदा २ सय १० स्थायी र १ सय ११ अस्थायीसमेत गरी करिब ३ सय २५ जनशक्ति कार्यरत थिए । उद्योग बन्द भएपछि सबै कर्मचारी/मजदुरले उपदान लिएर बिदा भए पनि तत्कालीन क्यासियर रामसेवक महतोले भने अझै उपदान लिन बाँकी छ ।
उद्योग रुग्ण हुँदै गएपछि तत्कालीन सरकारले ०५३ जेठ १७ मा निजीकरण गर्ने निर्णय लिएको थियो, जसअनुसार १३ करोड रुपैयाँमा निजीकरणमा लग्न खोज्दा ९ करोड ५१ लाख रुपैयाँ बराबर ६५ प्रतिशत स्वामित्व निजी क्षेत्रले पाउने र बाँकी ३५ प्रतिशत स्वामित्व सरकार आफैंले राख्ने निर्णय भएको थियो । ‘पाटनका रेशमलाल वैद्य, बनेपाका जोगीलाल ताम्राकार र हेटौंडाका उदयमोहन श्रेष्ठले साझेदारीमा यो उद्योगको ६५ प्रतिशत स्वामित्व खरिद पनि गरेका थिए,’ गौतमले भने, ‘तर एक पटक उद्योग बन्द भएपछि पुनः सञ्चालनमा आउनै सकेन ।’ उद्योग स्थापना गर्न सरकारको भने त्यति बेला ३ लाख ५० हजार रुपैयाँ मात्र लगानी भएको उनले बताए । त्यति बेला जग्गा करिब ४० हजार रुपैयाँ बिघामा सरकारले खरिद गरेको थियो । कारखानाले हँसिया, खुर्पी, कुटो, कोदालो मात्र नभई विद्युत् प्राधिकरणका लागि पोल, तत्कालीन यातायात संस्थानका लागि ट्यांकर, तत्कालीन शाही नेपाल वायु सेवा निगमका लागि जहाज चढ्ने सिँढी, यात्रुको सामान ओसार्ने ट्रली पनि उत्पादन गरेको गौतम बताउँछन् ।