पर्साको सदरमुकाम वीरगंजबाट २० किलोमिटर उत्तर–पश्चिममा पर्छ, पटेर्वासुगौली गाउँँपालिका वडा नं ५ मा पर्ने गाउँँ निचुटा । सो गाउँ अहिले मेलामय भएको छ । पहिलेदेखि प्रख्यात मन्दिर वा धार्मिकस्थलमा मेला लागेको होइन ।
गत शनिवार एकादशीको दिन बिहान साढे १० बजे अद्भुत शिवलिङ्ग भेटिएपछि उक्त लिङ्ग हेर्न श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्न थालेको हो । शनिवार र आइतवार गरी दुई दिनमैं हजारौं भक्तजनले शिवलिङ्गको दर्शन गरिसकेको सो क्षेत्रका जसपा नेता मोहनलाल चौधरीले बताए । उनले शिवलिङ्ग नगाडिएको अवस्थामा गाउँँकै एकजना व्यक्ति खर (एक प्रकारको छानो छाउन प्रयोग गरिने घाँस) काट्ने क्रममा उनको हसियामा उक्त शिवलिङ्ग ठोकिएपछि पत्ता लागेको बताए ।
त्यसपछि त्यहाँ पुग्नेहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । निचुटादेखि हरपुर जाने सडकखण्डको दक्षिण तथा भुलवाही खोलाभन्दा पूर्वमा उक्त शिवलिङ्ग भेटिएको हो । गाउँँका देवनारायण साह गोढले खर काट्ने क्रममा शिवलिङ्ग देखेपछि गाउँँलेलाई खबर गरेका थिए । अहिले त्यहाँ टेन्ट पण्डालसमेत लगाइएको छ ।
पर्सा–बारा र बिहारका श्रद्धालु भक्तजनहरू शिवलिङ्ग हेर्न आउने गरेको उनले बताए । उक्त ठाउँमा सात बिघा १० कट्ठा ऐलानी जग्गा छ । त्यहाँ अहिले गाउँँपालिका र सोमेश्वरनाथ सामुदायिक वन समितिको सक्रियतामा वन लगाइएको छ । शिवलिङ्गमा नाग, जनेउ तथा चन्द्रको चिह्न देखिएकोले भोलेबाबा नै प्रकट भएको सोमेश्वरनाथ काफिला समितिका अध्यक्ष प्रेमनारायणप्रसाद यादवले दाबी गरे । उनले शिवलिङ्ग भेटिएपछि दाताहरूले सहयोग गर्न शुरू गरेको बताए । चाँडै उक्त ठाउँमा प्राणप्रतिष्ठा गरी मन्दिर निर्माण गर्ने, भजनकीर्तन गर्ने काम शुरू हुने बताए ।