पर्साका ग्रामीण भेगमा रहेका शक्तिपीठहरूमा सोमवार राति मेला लागेको छ । हरेक वर्ष कार्तिक शुक्लपक्ष चतुर्दशीका दिन राति ती शक्तिपीठहरूमा मेला लाग्ने गर्दछ ।
ठोरी गाउँपालिका–५ सुवर्णपुरमा रहेको बाघमोर्चामाई, जीराभवानी गाउँपालिका–५ को सुगीभारमाई मन्दिर, पटेर्वासुगौली गाउँपालिका–१ मा रहेकोे गादीमाई मन्दिर र सखुवाप्रसौनी गाउँपालिका–१ मा रहेको कोइलाभार मन्दिरमा मेला लागेको छ ।
आज साँझ दीप प्रज्वलन गरी शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूले विशेषरूपले पूजा अर्चना गरे । राति लाग्ने यी मेलाको सुरक्षा व्यवस्थाका लागि जनपद प्रहरी तथा स्वयंसेवकहरू परिचालन गरिएको सुगीभारमाई मेला व्यवस्थापन समितिका सदस्य मुक्तिनारायण चौधरीले जानकारी दिए । मेलाको भोलिपल्ट अर्थात् पूर्णिमाको दिन बिहानदेखि मन्दिरमा बोका, हाँस, कुखुरालगायतको बलि चढाउने चलन रहेको सदस्य चौधरीले बताए । थारू परम्परा अनुसार गत वर्षसम्म विवाहमा बेहुला र बेहुलीले लगाउने मौर र मौरीलाई आजै राति स्थानीय शक्तिपीठहरूमा चढाउने गरिन्छ । अन्य शक्तिपीठको मेला एक रातको भएपनि बाघमोर्चामाईको मेला एक सातासम्म लाग्ने गर्दछ ।
पर्सागढी नगरपालिका–३ मा रहेको आमोदेवी मन्दिर र बाराको करैयामाई मन्दिरमा यस वर्ष पनि कार्तिक शुक्लपक्ष चतुदर्शीको दिन मेला लागेको छ । आज र भोलि दुर्ई दिन लाग्ने मेलाको तयारी भइसकेको छ ।
वनदेवी माता सात दिदीबहिनी रहेका र सातै दिदीबहिनीको स्थलमा परापूर्वकालदेखि धार्मिक मेला लाग्दै आइरहेको छ ।
आज बिहानैदेखि मन्दिरमा पूजापाठ गर्ने भक्तजनहरूको भीड बढेको छ । मङ्गलवार पूर्णिमाको बिहान पशुपक्षीको बलि दिने चलन रहेको आमोदेवी मेला समितिका अध्यक्ष रामचन्द्रदास थारूले बताए ।
मेलामा शान्ति सुरक्षाको लागि जनपद प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवक परिचालन गरिएको तथा मेलामा झैंझगडा नहोस् भनी तीन चरणको सुरक्षा व्यवस्था मिलाइएको मेला अध्यक्ष थारूले बताए ।