काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काभ्रेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घर बाहिर आइतबार बिहान शंकास्पद बस्तु फेला परेको छ ।
भक्तपुरको लोकन्थली–१ स्थिति बास्कोटाको घर बाहिर सुरमा सडकमा प्लास्टिक बोरामा बाँधेर राखेको अवस्थामा सो बस्तु फेला परेको हो । शंकास्पद बस्तु फेला परेको ठाउँमा प्रहरीले घेरा हालेको छ ।
घटनास्थलमा सशस्त्र पहरीको टोली पनि पुगी सकेको छ । बम डिस्पोज गर्ने नेपाली सेनाको टोली घटनास्थलमा जाँदै छ । सो शंकास्पद बस्तु प्रेसर कुकर बम हुनसक्ने आशंका गरिएको छ ।
शंकास्पद बस्तु राखिएको घरमा बास्कोटा हुनुहुन्न । उहाँ काभ्रेमा नै हुनुहुन्छ । आइतबार बिहान स्थानीयले सो शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।