

वीरगन्ज । बिन्दबासिनी गाउँपालिकाले निशुल्क लोकसेवा आयोगको तयारी कक्षा शुरु गरेको छ । निजामती सेवा अप्राबिधिक तर्फका असई , प्रहरी निरीक्षक , नायब सुब्वा ,खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग हुने उदेश्यका साथ नि:शुल्क कक्षा दिइने भएको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताउनु भएको छ ।आइतबार गाउँपालिका अध्यक्ष तिवारीले आयोग तयारीको कक्षाको शुभारम्भ गर्दै सफलताको कामना गरे । स्थानिय तहमा गरिने यस खाले कार्यक्रमले शिक्षित र बेरोजगार जनशक्ति लाभान्वित हुने बताए । पालिकाको शिक्षित युवाहरुको अवस्थालाई मुल्याङन गरी आयोगको तयारी कक्षा थालिएको उनले बताए । पालिकाको सहयोगमा कमजोर , दलित , विपन्न वर्ग तथा जेहन्दार विद्यार्थीहरुका लागि ३ महीने निशुल्क कक्षा सञ्चालन गरिएको उनले बताए । पालीकाले आव्हान गरेको सूचना अनुसार ८१ जना युवा युवतीहरुले लोक सेवा आयोगको कक्षा लिनका लागि आवेदन दिएकोमा सम्पूर्ण विद्यार्थीहरुको लागि वीरगन्ज स्थित रहेको संकल्प लोक सेवा आयोगको विद्यालयमा पालिकाको आर्थिक सहयोगमा पढ्नका लागि पठाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताए । कार्यक्रममा लेखा अधिकृत मिथलेश कुशवाहा , सामाजिक शाखा प्रमुख नरेश चौहान लगायत ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।