वीरगञ्ज, २६ फागुन : ४५ किलो गाँजासहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । हिजो राति ११ बजे बारा, पचरौता नगरपालिका–८ बाजोपट्टीनजीकै चारजना तस्करले गाजा ढुवानी गरिरहेको बेला प्रहरीलाई देखेपछि तीनजना फरार भएको र एकजना पक्राउ परेको बारा प्रहरीले जनाएको छ । सुरक्षा प्रहरी वेस क्याम्प लंगडाचोकमा खटेको प्रहरी टोलीले गाँजा ढुवानी गर्ने बारागढी गाउपालिका–४ पोखरिया बस्ने ५० वर्षीय बाबूलाल चौधरीलाई ४५ किलो गाँजासहित पक्राउ गरेको जिप्रका बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले जानकारी गराएका छन् । यसैगरी वीरगञ्जबाट लागूऔषध गाँजा सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ बस्ने १९ वर्षीय प्रिन्स पटेल रहेका छन् । मंगलबार साँझ ७ बजे वीरगञ्ज–११ स्थित अल्पाइन बोर्डिङ स्कुल नजिकबाट उनी पक्राउ परेका हुन् । ना.४६ प.५३२९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलामा ३ केजी गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका पटेल माथि लागूऔषध कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको उनले बताए ।