वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सा र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय समेतको संयुक्त अनुगमन टोलीले अखाद्य चना र ओखर नष्ट गरेको छ । अनुगमनको क्रममा माघ १८ गते वीरगंज महानगर–३ छपकैयास्थित कैलाश कोल्ड स्टोरेजमा भण्डारण रहेको २५ किलो तौलको ६२५ बोरा अखाद्य चना र २० बोरा ओखर बरामद भएपछि बुधवार नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।
जिप्रका, पर्सा, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, कन्जुमर आई नेपाल, नेपाल पत्रकार महासङ्घ, पर्साका उपाध्यक्ष युवराज खड्काको उपस्थितिमा बुधवार सिल खोलिएको र बरामद चना जिल्ला प्रशासनमा खाल्डो खनेर नष्ट गरिएको सप्रजिअ पौडेलले बताए ।
उनले बाराको आधुनिक दाल उद्योग प्रालि छातापिपराका सञ्चालक पवन साहले पुरानो बोराको चना र ओखरनयाँ प्याकिङ गरी कैलाश कोल्ड स्टोरेजमा भण्डारण गरेको सूचनाको आधारमा छापामारी गरेको र भण्डारण गरिएको चना सिल गरिएको बताए ।
उनले अखाद्य चनालाई खाद्य बनाउन तिकडम रच्ने आधुनिक दाल उद्योग प्रालि छातापिपरालाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयले दुई लाख जरिवाना गरेको जानकारी दिएका छन् ।