वीरगञ्ज, १ चैत : वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दीर्घकालीन असर पर्ने बताएका छन् । आइतबार शिक्षा पत्रकार समाज र आसमान नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक अन्तरक्रियामा नगर प्रमुख सरावगीले विशेषगरी सामुदायिक विद्यालयका बालबालिका सुरक्षित नरहेको बताए । शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले स्थानीय तहसँगै समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । बालबालिकाहरुले सुरक्षित वातावरणमा पढ्न नपाए ‘डिप्रेसन’मा जान सक्ने खतरा औंल्याए । पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले विद्यालयमा सुरक्षित सिकाइका लागि सरोकारवाला एक हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा सहभागी पालिका शिक्षा समितिका पदाधिकारी, शिक्षा शाखा अधिकारी तथा जनप्रतिनिधिहरुले सुरक्षित सिकाइका लागि आफूहरु गम्भीर रहेको बताए ।