वीरगञ्ज, २ चैत : दोस्रो चरणको कोरोना विरूद्धको खोप आज समाप्त भएपनि पर्सा जिल्लामा दुई दिन थप गरिएको छ । सरकारले दोस्रो चरणको खोप फागुन २३ गतेदेखि शुरू गरी आज सम्मको समयसीमा दिएको थियो । तर पर्सा जिल्लामा खोप मौज्दात भएको कारण दुई दिन थप गरिएको स्वास्थ्य कार्यालय, पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए । उनले २३ गतेदेखि शुरु भएको खोप प्रतिदिन अनुमानित ५ हजारको हाराहारीमा लगाइएको बताए । पर्सा जिल्लाको वीरगंज महानगरपालिकाको ३२ वटै वडा, बहुदरमाई नगरपालिका, कालिकामाई, पकाहामैनपुर, धोबिनी, .विन्ध्यवासिनी, छिपहरमाई लगायत सातवटा स्थानीयपालिकामा लगाइएको उनले जानकारी गराए । वीरगंज महानगर र पालिकाहरुमा ज्येष्ठ नागरिकलगायत यसअघि खोप लगाउन बाकी रहेका मानिसहरुको उत्साहजनक सहभागिता रहेको उनले जानकारी गराए । पहिलो चरण र दोस्रो चरणमा पर्सा जिल्लामा खोप लगाएका कसैलाई सिकिस्तखाले समस्या नभएको बताए । उनले सामान्यतया खोप लगाएको दिन शरीर दुख्ने, ज्वरो आउने जस्ता सामान्य समस्या देखिएको र भोलिपल्ट त्यसको निराकरण भएको बताए । दोस्रो चरणमा ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई कोरोना विरूद्धको खोप दिइएको थियो ।