

वीरगञ्ज, २ चैत : प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान नाराका साथ सोमवार वीरगञ्जमा पनि अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्सा वीरगंज र उपभोक्ता हकहित संरक्षण मञ्च पर्साको आयोजनामा घण्टाघरमा प्रभातफेरि र कोणसभा गरिएको थियो । घण्टाघरबाट निकालिएको प्रभातफेरि नगर परिक्रमा गरी घण्टाघरमा समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले उत्पादन गर्ने व्यक्ति पनि उपभोक्ता भएकोले उपभोग्य वस्तुको उत्पादन आपूm अनुकूल गर्नुपर्ने सुझाव दिए । उनले उपभेक्ताको स्वास्थ्यसग खेलवाड नगर्न आग्रह गरे । उपभोक्ता हकहित संरक्षण मञ्च प्रदेश २ का अध्यक्ष केसी लामिछानेले वीरगंज महानगर उपभोक्ता मैत्री नभएको आरोप लगाए । उनले सङ्घ सरकारले उपभोक्ता सम्बन्धी कानून ल्याए पनि प्रदेश सरकार र स्थानीय तहले अहिलेसम्म कानून ल्याउन परैको कुरा कार्यविधि र निर्देशिका समेत तयार नगरेको बताए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, पर्साका प्रमुख जीतबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका प्रदेश अध्यक्ष रामदेवलाल दास, पर्सा अध्यक्ष दिनानाथप्रसाद गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्की, उपभोक्ता हकहित संरक्षण मञ्च वीरगंज महानगरका अजित भुजेल लगायतको सहभागिता थियो ।