वीरगञ्ज, ३ चैत : वीरगञ्ज–३१ बेल्वामा इँटा भट्टामा जलेर दुईजना घाइते भएका छन् । केबी इँटा उद्योगको भट्टामा जलेर ५० वर्षीय कलिम मियाँ र भारतीय कामदार कलेशकुमार घाइते भएको पर्सा प्रहरीले जनाएको छ । घाइते मध्ये कलिमको अवस्था गम्भीर छ । इँटा पोल्ने चिम्नी भट्टीमा खसेर उनीहरु घाइते भएका हुन ्। गण्डक स्थित नारायणी वयोधा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको छ । मियाँको अवस्था गम्भीर भएकोले हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए । कलामको शरीरको ५० प्रतिशत भाग आगोले जलेको नारायणी वयोधा अस्पताललाई उदृत गर्दै डिएसपी खनालले बताए । उद्योगका लेखापाल मजरे आलमका अनुसार उद्योगको निरीक्षणमा गएको समयमा कामदार भट्टीमा खस्न लागेको देखेपछि मियाँ जोगाउन गएका थिए । तर, उनी स्वयं चिप्लेर भट्टीमा खसेको उनको भनाइ छ ।