

बारा, ३ चैत : बारामा महिलामाथि हुने घरेलु हिंसा दिनप्रति दिन बढ्दै गएको छ । यस आर्थिक वर्षको फाल्गुन सम्ममा मात्रै ४ सय ३४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएको पाईएको हो । १६ वटा स्थानीय तह रहेको यस जिल्लामा कलैया उपमहानगरपालिका, देवताल र सुवर्ण गाउँपालिकाका घरेलु हिंसाका धेरै उजुरी देखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घरेलु हिंसामा दर्ता भएका उजुरी मध्ये मानाचामल, सम्बन्ध विच्छेद, अंशवण्डा, शारीरिक हिंसामा बढी उजुरी दर्ता भएको प्रहरीले जनाएको छ । बैदेशिक रोजगारका कारण समेत घरेलू हिंसा बढ्ने गरेको पाईएको छ । बैदेशिक रोजगारमा गएका युवाहरु घरमा रहेकी श्रीमती माथी संका गर्ने गरेको र नेपाल फर्किए पछि घर झगडा गर्ने गरेको घटनाहरु धेरै हुँने गरेको जिल्ला प्रहरी कार्यालय बारा प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए । घरेलु हिंसा पछि यौन हिंसा सबै भन्दा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ । बारामा दाईजो सम्बन्धी अपराधको न्यून मात्रामा उजुरी पर्ने प्रहरीको भनाई रहेको छ । समाजिक प्रतिष्ठामा आँच आउने डरका कारण प्रहरीमा न्यून संख्यामा उजुरी पर्ने गरेको बताईएको छ । घरेलु हिंसाका धेरै उजुरी पर्नुको कारण यँहा महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन नसक्नु रहेको महिला अधिकारकर्मीहरू बताउछन् । उनीहरु माथि परिवार र समाज हाबी हुने अधिकारकर्मीहरूको भनाई रहेको छ । महिला माथी हुने हिंसा रोकथाम गर्न सरकार कै तर्फबाट भएका प्रयास कम भएको कतिपयको भनाई छ । तर, महिलाहरु माथी हुने यस्ता घटनामा कमी आउन नसकेको महिला अधिकारकर्मी गीता कँडेलले बताईन् ।