वीरगञ्ज । तीन दिने रात्री बजारको सफलतापछि वीरगञ्ज महानगरपालिकाले यसलाई निरन्तरता दिने भएको छ ।
कोभिड-१९ महामारीका कारण सुस्ताएको व्यापार व्यवसायलाई चलायमान बनाउने अभिप्रायका साथ वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको रात्री बजारको समापन गर्दै महानगर प्रमुख राजेशमान सिंहले निरन्तरता दिने उद्घोष गरेका हुन् ।
महानगर प्रमुख सिंहकाअनुसार अबदेखि हरेक महिनाको अन्तिम शुक्रवार र शनिवार वीरगञ्जमा रात्री बजार लाग्नेछ । सिंहले भने, ‘अहिले परीक्षणका लागि सुरुमा तीन दिनसम्म लगाइएको रात्री बजारमा उत्साहजनक उपस्थिती देखियो । जसले हामीलाई पनि ऊर्जा थपेको छ । त्यही भएर अब हरेक महिनाको अन्तिम शुक्रवार र शनिवार रात्री बजार लाग्नेछ ।’ चैत ३० गते नयाँ वर्षको अघिल्लो दिनदेखि बैशाख २ गतेसम्म चलेको रात्री बजारमा करिब ३ लाख मानिसले सहभागीता जनाएको सहआयोजक ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका सचिव मुरली जलानले जानकारी दिए । उनकाअनुसार छिमेकी राष्ट्र भारत बिहारको रक्सौल, बेतिया, मोतीहारी, मुज्जफरपुर लगायतका स्थानबाट ५० हजार बढी भारतीयहरुहरु रात्री बजारमा सहभागी थिए ।
भारतीय नागरिकलाई नै मध्यनजर गर्दै तीन दिनसम्म यहाँका सीमानाका २४ सै घण्टा खुला गरिएको थियो । त्यस्तै पर्सासहित बाराको जितपुर, सिमरा, कलैया, मकवानपुरको हेटौडा लगायतका स्थानबाट पनि उल्लेख्य उपस्थिती रहेको जलानले बताए ।
रात्री बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानकाअनुसार तीन दिने रात्री बजारमा लगाइएका स्टलहरुमा झण्डै तीन करोड रुपैयाँ बराबरको कारोबार भएको छ । खेतानले भने, ‘ टेबुल र ठेलामा चाट, छोला भटुरा र पानीपुरी बेच्ने साना व्यपारीले मात्रै दिनको ३०/३५ हजारको व्यपार गरेका छन्, सबै स्टलसहित ठूला होटल र रेष्टुरेण्टको समेत जोड्ने हो भने ४ करोड जतिको कारोबार भएको अनुमान गरेका छौँ ।’
महानगर प्रमुख सिंहले भने,‘ कामकाजी शहरवासी हप्ता वा महिनामा एकपटक भएपनि राति बजारमा निस्किएर खुल्ला जीवन जिउन चाहन्छन् भन्ने कुरा “रात्री बजार” ले स्पष्ट पारेको छ । त्यसका कारण अब यो “रात्री बजार” लाई निरन्तरता दिन्छौ ।’
तीनदिनको “रात्री बजार” मा आदर्शनगर चोकदेखि कैलाश होटल चोक हुदै पुरानो बसपार्क र चिल्ड्रेन पार्क सम्मको सडकमा खानाका परिकार, लत्ताकपडा, जुत्ताचपल, मसाज, पेयपदार्थ, विभिन्न समुदायका सांस्कृतिक झाँकी लगायतका गरि १ सय भन्दा बढि स्टलहरु राखिएको थियो । “रात्री बजार” मा राखिएका स्टल र बजार लगाइएको आदर्शनगर क्षत्रेका पसलहरु राति २ बजे सम्म खुल्ला गरिएको थियो । यसका साथै पुरानो बसपार्कमा अबेरराति सम्म सांगीतीक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो