काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकारका रुपमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईले नाम लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयाोगका प्रमुृख प्रेम राई पनि तानिएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान भन्दै करोडौं असुलउपर गर्ने गिरोहमा संलग्न रहेको भन्दै उनको नाम पनि मुछिएको हो ।
मंगलबार पक्राउ परेका इन्द्रजितले बयानका क्रममा अख्तियार प्रमुख राईको नाम लिएका हुन् । आफूलाई पनि सो प्रकरणमा तानिएपछि अख्तियार प्रमुख राईले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भेटेका छन् ।
सोही प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले तीन दिन थुनामा राख्न म्याद पाएको छ । पाण्डे त्यो बेला गृहसचिव थिए । यसैगरी पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि बुधबार नै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
सोही प्रकरण संलग्नता भएको आरोपमा तत्कालीन उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि बुधबार नै पक्राउ पुर्जी जारी भएको छ। गिरोहका नाइके मानिएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई १२ चैतमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । केशव दुलाल २०६६ सालमा कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दा उनका स्वकीय सचिव थिए ।
उक्त गिरोहले आठ सय भन्दा धेरै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रकम उठाएका खुलेको छ । यस प्रकरण अनुसन्धानका क्रममा अन्य सरकारी कर्मचारी र शीर्ष नेता पनि पर्न सक्ने आशंका गरिएको छ ।