वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा शान्ति सुरक्षा र मिटर ब्याजसँग सम्बन्धित बाहेक अन्य सेवा दुईदिनका लागि ठप्प हुने भएको छ ।
नवनिर्मित प्रशासनिक भवनमा पूरानो भवनबाट सामग्रीहरु सार्नु पर्ने भएको हुनाले आज वैशाख २६ गते र भोली वैशाख २७ गते गरी दुईदिनका लागि जिल्ला प्रशासन कार्यालय पर्साको कामकाज र सेवा ठप्प हुने भएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सोमबार एउटा सूचना जारी गर्दै नव निर्मित भवनमा पूरानो भवनबाट सामग्रीहरु सार्नु पर्ने भएको हुनाले जिल्ला प्रशानसन कार्यालय पर्सामा शान्ति सुरक्षा र मिटरब्याजसँग सम्बन्धित सेवा बाहेक अन्य सेवा दुईदिन बन्द जनाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचना अनुसार कम्प्युटर, प्रिन्टर, राहदानी र राष्ट्रिय परिचय पत्रको विवरण दर्ता स्टेशन, अभिलेख फाईलहरु, फर्निचर लगायतका कार्यालयका सम्पूर्ण सामाग्रीहरु पूरानो भवनबाट नयाँ भवनमा स्थानान्तरण गर्नुपर्ने भएकोले शन्ति सुरक्षा र मिटरब्याजसँग सम्बन्धित सेवा बाहेकका नियमित सेवा बन्द हुने भनिएको छ ।
