नेपाल शिक्षक महासङ्घ, पर्साले वीरगंज महानगरलाई १० बुँदे माग पूरा गर्न सात दिने अल्टिमेटम दिएको छ । महासङ्घले शिक्षा, शिक्षक र विद्यालयलगायतका सेवासुविधालगायत सम्बन्धित १० बुँदे माग राख्दै वीरगंज महानगरलाई सात दिने अल्टिमेटम दिएको हो ।
शिक्षक महासङ्घका पदाधिकारीहरूले वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउतलाई मागदाबीसहितको ज्ञापनपत्र आज बुझाएका हुन् ।
वीरगंज महानगरले केही साताअघि वीरगंज महानगरभित्रका सामुदायिक विद्यालयका प्रअहरूलाई मनपरी सरूवा गर्न थालेपछि शिक्षक महासङ्घले आन्दोलनमा उत्रिने चेतावनी दिंदै आएको थियो ।
पर्सामा पठनपाठनमा बाधा नपुग्ने गरी शान्तिपूर्ण आन्दोलन चर्काउने मनसायले शिक्षक महासङ्घले रामगढवास्थित कुर्मी सेवा सदनमा जिल्लाभरिका विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारी, बालविकासको भेला डाकेको थियो । सोही भेलामा शिक्षक तथा कर्मचारीमाथि पालिकाका जनप्रतिनिधिले गरिरहेको दमन, शोषण रोक्न सङ्घर्षका कार्यक्रम बनाएर जाने निर्णय भएपछि शान्तिपूर्ण आन्दोलन शुरू भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष तीर्थराज यादवले बताए ।
भेलामा जिल्लाभरिबाट करीब पाँच सय शिक्षक एवं कर्मचारीहरूको सहभागिता थियो । रामगढवाको कार्यक्रम लगत्तै महानगरमा ज्ञापनपत्र बुझाएर अल्टिमेटम दिने कार्यक्रम बनेको थियो ।
शिक्षकहरूको टोली वीरगंज महानगरमा पुग्दा वीरगंज महानगरका प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, शैक्षिक प्रशासन प्रमुख अरविन्दलाल कर्णलगायत कामविशेषले वीरगंजबाहिर गएकाले शिक्षा अधिकृत राउतलाई ज्ञापनपत्र बुझाइएको थियो । सात दिनमा माग सम्बोधन नभएर सङ्घर्षका थप कार्यक्रम अघि बढाउने पेशागत शिक्षक सङ्घसंस्थाका छाता सङ्गठन नेपाल शिक्षक महासङ्घ, पर्साले जनाएको छ ।