काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरूलाई कारबाही हुनुपर्ने बताएका छन् । उनले दोषी माथि कारबाही गर्न प्रहरीले कसैको कुरा सून्न नमिल्ने बताएका छन् । दोषी माथि कानुनी कारबाहीका क्रममा राजनीतिक दवाव अनुचित र नीति विपरीत कार्य हुने उनको भनाइ छ ।
बुधबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताए । उनले देशमाथि गद्दारी गर्ने नेताहरू बचाउन शीर्ष नेताको दवाव र चलखेल पनि उपयुक्त नभएको बताए । दोषी कानुनका अगाडि कुनै पाटीर्को नेता बन्न नसक्ने र त्यस्ता दोषीलाई बचाउन खोज्ने प्रबृति पनि ठीक नभएको उनको भनाइ छ ।
काेइरालाले भने, ‘जो जो दोषी हो, उनीहरूलाई कारबाही हुन पर्छ यसमा इफ र बटको कुरै छैन उनीहरूले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन । कुनै दलको नेताले यो मेरो मान्छे भन्न मिल्दैन । कानुनलाई निष्पक्ष रुपमा काम गर्न दिनुपर्छ । प्रहरीले पनि कसैको दवाव आयो भनेर त्यस्तो दवावलाई कानुनभन्दा माथि ठान्नु हुँदैन । निर्दोष छ भने पनि उसलाई दवावका आधार दोषी देखाउन मिल्दैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे । यो प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सह्राना गर्दै उनले भने, ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेबलसम्म पुर्याउँछ, पुर्याउँछ ।’