वीरगञ्ज । हेटौंडाबाट भारतिय कारमा ९२ किलो ग्राम लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले कार चालक भारत मोजफुर बस्ने बर्ष २२ को अमित कुमार दुबे, कारमा सवार पर्साको छिपरमाई गाँउपालिका वडा नम्बर ९ बस्ने बर्ष ५० को नैमुदिन मियाँ र मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० बाझोखेत बस्ने बर्ष ६० को बुद्धिमान थोकरलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलीले आइतबार विहान अन्दाजी साढे ५ बजेको समयमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका – १० स्थित प्रहरी चौकीले चौकीटोल अगाडिको सडकबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो ।
बिआर ०१ बिएन १५१८ नम्बरको भारतिय कारलाई रोकी चेकजाँच गर्ने क्रममा कार चालक दुबे, कारमा सवार मियाँ र मकवानपुरका थोकरलाई फेला पारी निजहरुको शरीर तथा उक्त कारको खानतलासी गर्दा कार भित्र पछाडीको सिट पछाडि फल्स बटन बनाई लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागूऔषध गाँजा ९२ किलो ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेको उक्त लागूऔषधसहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।