वीरगञ्ज । चुरे तथा वनजङ्गल संरक्षण अभियानले काठमाडौँको माइतीघर मण्डलामा सुरु गरेको धर्नामा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताले ऐक्यबद्धता जनाएका छन् ।
जेठ ४ गते वीरगञ्जस्थति सिर्सिया नदीको प्रदूषित पानी बोकेर ११ दिने पदयात्रा गर्दै आइतबार काठमाडौँ पुगेका अभियानका सदस्यहरुसँग भेटघाट गरेर उनीहरुको माग पत्र बुझ्दै धर्नामा सांसद् गुप्ताले ऐक्यबद्धता जनाएका हुन् ।
अभियानका संयोजक सुनिल यादव र संरक्षक सरोज राय यादवलगायतका अभियन्ताहरुसँग कुराकानी गर्दै सांसद् गुप्ताले सिर्सिया नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारवाही गर्न सरकारमाथि दवाव सृजना गर्ने आफूले संसद् मार्फत आवाज उठाउने बताए । दशकौँदेखि उद्योगले दूषित पानी र अन्य रासायनि पदार्थ सोझै नदीमा मिसाउँदा सिर्सिया प्रदूषित बनेको भन्दै त्यस्ता सम्पूर्ण उद्योगलाई तत्काल बन्द गर्न सरकारसँग आफूले माग राख्ने उनले बताए ।
वर्तमान सरकारका उद्योगमन्त्री पर्सावासी हुँदाहुँदै पनि वीरगञ्जको सिर्सिया नदीको प्रदूषणलाई अन्त्य गर्न कुनै कदम नउठाइएकोमा दु:ख व्यक्त गर्दै उनले सरकारलाई तुरन्तै कारवाही गर्नुपर्ने सुझाव दिए ।
अभियन्ताहरु सिर्सियाको दूषित पानी बोत्तलमा भरेर काठमाडौँ पुगेका छन् । भोली उनीहरुले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेर नदीको पानी उपहार स्वरूप दिएर सांकेतिक विरोध प्रदर्शन गर्ने योजना रहेको जनाएका छन् ।