वीरगंज, साउन ३१ । मित्र राष्ट्र भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा आज भारतीय महावाणिज्य दूतावास वीरगंजले आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाएको छ ।
आफ्नो स्वतन्त्रता दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास वीरगंजद्वारा स्वतन्त्रता दिवस समारोह आयोजना गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगंजमा आयोजित कार्यक्रमको शुरूवातमा उपमहावाणिज्यदूत रमेश प्र. चर्तुवेदीले स्वागत मन्तब्य राखेका थिए ।
स्वागत मन्तब्य पश्चात महावाणिज्यदूत नितेश कुमारले ध्वजारोहण गरी भारतका राष्ट्रपतिले राष्ट्रको नाममा दिनु भएको संदेश वाचन गरेका थिए ।
विश्वभरि फैलिएको महामारी कोभिड –१९ को कारण आजको कार्यक्रम महावाणिज्य दूतावासको कर्मचारी र महावाणिज्य परिवार बीच मात्र सीमित गरिएको थियो ।
दूतावास भित्र आयोजित कार्यक्रममा महावाणिज्य दूतावासका सबै अधिकारी र कर्मचारीहरु मात्र समारोहमा उपस्थित रहेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रसारण दूतावासको फेसबुक पेज मार्फत समेत गरिएको थियो ।
यसै गरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै शुभकामना दिएका हुन् ।
