

वीरगन्ज । नेपाल जेन क्याेकुशिन कराते संघले बिहीबार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरमा सम्पन्न भएको सम्मान कार्यक्रममा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा वडा नं ४ चैनपुर टोलबाट नाम निकाल्न सफल भएका प्रहरी सहायक निरीक्षक हरेश कुमार राम र उत्तम साह कानुलाई कार्यक्रमका प्रमुख अतिथी संघका केन्द्रीय अध्यक्ष तथा जसपा पार्टीका युवा नेता सञ्जु साहले फूल माला लगाई सम्मान गर्नुका साथै युवाहरुलाई संघको तर्फबाट सम्मानपत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि साहले नेपाल प्रहरीको रूपमा यस टोलबाट दलित समुदायबाट नाम निकाल्न सफल भएको हरेश कुमार राम र उत्तम साहलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साथै उनले अब यस गाउँपालिकाबाट युवाहरु सरकारी निकायमा नाम निकाल्न थालेको देख्दा आफूलाई निकै खुशी र गर्व महसुस भएको बताए । उनले यी युवाहरु जस्तै अरु युवाहरुले पनि मिहिनेत गरेर विभिन्न सरकारी पदहरूमा नाम निकालेर समाजको सेवा गर्न र यस पालिकाको नाम उच्च राख्न आग्रह गरे । साथै प्रमुख अतिथी साहले युवाहरुको यस अभियानमा आफू सक्दो सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाली काँग्रेस पार्टी वडा नं ४ का सभापति मुख्तार देवान, न्यू रायाजिङ युवा क्लबका अध्यक्ष लक्ष्मी भगत, जसपाका युवा नेता सीकेन्द्र पटेल, सावीर देवान,भागवत यादव लगायतले युवाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साथै नेपाल जेन क्याेकुशिन कराते संघबाट काठमाडौंमा आयोजना हुन लागेको कराते खेलको लागि सहभागिता जनाउन लागेका खेलाडीहरू आदित्य साह कानु, इमरान हवारी, साजन पटेल र रबी पटेललाई पनि यसै कार्यक्रममा बिदाई गरिएको थियो । सो कार्यक्रम संस्थाका उपाध्यक्ष रुस्तम हवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन भिखारी साह कानुले गरेका थिए ।