वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मितिमा नियन्त्रणमा लिएको भारतबाट अवैध तरिकाले नेपाल भित्र्याइएको पटाकालगायतका आतिशबाजी र विस्फोटक पदार्थहरू नष्ट गरेको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्सा पछाडि रहेको पोखरीको डिलमा खाल्डो खनेर विभिन्न मितिमा विभिन्न स्थानका प्रहरी युनिटहरूले नियन्त्रणमा लिएको पटाका, आतिशबाजी र विस्फोटक पदार्थहरू नष्ट गरेको हो ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार नष्ट गरिएको पटाकालगायतका सामग्रीको बजार मूल्य झन्डै आठ लाख रुपैयाँ रहेको छ ।
डिएसपी थापाका अनुसार चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप खटिएको प्रहरी टोलीले भारतबाट लुकाइ छिपाई ल्याइएको तथा वेवारिसे अवस्थामा समेत बरामद गरिएको पटाकालगायतका सामग्रीहरू नष्ट गरिएको छ ।
पटाकाहरू स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको थियो ।