वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका श्रीपुरस्थित रहेको जिएचपी माद्यामिक विद्यालयमा आज शनिबार कला तथा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।
जिएचपी माद्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आविस्कार गरेका विभिन्न सामग्री प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा विज्ञान तथा प्रविधि सम्बन्धी एक सय वटा परियोजनाका स्टल राखिएको थियो ।
विद्यार्थीहरुले सोलार सिस्टम, वातावरणमैत्री शहर, औद्योगिक कोरिडोर, विद्युतीय साईकल, भूकम्प प्रतिरोधात्मक संरचनाको नमुना लगायतका सामग्री निर्माण गरेका थिए ।
साथै विद्यार्थीले बनाएका विभिन्न किसिमका चित्रकला पनि प्रदर्शनीमा राखिएको थियो । कक्षा १ देखि १० सम्म अध्ययनरत करिब १२ सय विद्यार्थीले प्रदर्शनीमा सहभागिता जनाएको विद्यालयकी प्रधानाध्यापक जैक सिंहले जानकारी दिए ।
प्रदर्शनीको वीरगञ्ज महानगरपालिकाका शिक्षा अधिकृत हरि राउत कुर्मी साथै प्रदर्शनीमा सहभागी विद्यार्थीहरुका अभिभावकहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनीधि अवलोकन गरेका थिए ।