वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकाले विद्यालयको चौर र पोखरी किनाराका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरमा डोजर चलाएको छ । गाउँपालिकाले बुधबार वडा नं. १ र २ गर्दौलस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय र पोखरी किनारमा बनेको घर भत्काएको हो।
गाउँपालिकाले सो क्षेत्रमा पर्यटकिय स्थल बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा घर नबनाउन गरिएको निर्देशन अटेर गरेर घर बनाएपछि भत्काइएको गाउँपालिकाले जनाएको छ । करिब ५० जनाले सार्वजनिक जग्गा अधिग्रहण गरी बनाएको घर भत्काउन गाउँपालिकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो ।
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन बिन्दबासिनी गाउँपालिकाले अभियान थालेको छ । गाउँपालिकामा नाला, सडकपेटी लगायतका सार्वजनिक स्थल र जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको हो । सार्वजनिक क्षेत्रमा भौतिक संरचना हटाउन गाउँपालिकाले सार्वजनिक सूचनाको प्रभावकारी कार्यान्वयन नभएपछि आफैँ डोजर लगाएर संरचना हटाउने अभियान सुरु भएको हो।
यहीक्रममा बुधबार गाउँपालिकाले गर्दौलमा विद्यालय र पोखरीको जग्गा अतिक्रमण गरी बनाइए घर भत्काइएको छ । पोखरी र विद्यालयको जग्गा निर्माण रहेको ४ वटा पक्की घरसहित ५० वटा घरमा डोजरले भत्काएर खाली गराइएको अध्यक्ष प्रमोद तिवारीले बताए ।