वीरगंज । जिल्ला अदालत पर्साका न्यायाधीश आनंद प्रसाद श्रेष्ठ र धर्मेन्द्र अधिकारीले न्यायिक समितिको अनुगमन गरेका छन् । बहुदरमाई नगरपालिका न्यायिक समितिले न्याय सम्पादनको क्षेत्रमा गरेका कामबारे जानकारी लिने उद्देश्यले न्यायाधीश श्रेष्ठ र अधिकारीले अनुगमन गरेका हुन् ।
न्यायिक समितिले गरेको कामबारे जिल्ला न्यायाधीशले अनुगमन गरी वार्षिक प्रतिवेदन तयार गर्ने प्रावधान रहेको बहुदरमाई नगरपालिकाका न्यायिक समितिले जनाएको छ ।
बहुदरमाई नगरपालिकाको न्यायिक समिति अनुगमनको क्रममा जिल्ला न्यायाधीश श्रेष्ठले केही सुझावसमेत दिएका छन् । न्यायाधीश श्रेष्ठले बहुदरमाई नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक शुष्मा कुशवाहालाई न्याय सम्पादनको काम इजलासबाट गर्न, निर्णयमा न्यायिक समितिका तीन जनाले मात्र हस्ताक्षर गर्न र मुद्दा पेसीका दैनिक तथा साप्ताहिक सूची राख्न सुझाव दिए ।
बहुदरमाई नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८०/०८१ मा २२ वटा मुद्दा दर्ता भएको छ, जसमध्ये १ मुद्दा फर्छ्यौट भएको र २१ मुद्दा प्रक्रियामा रहेको संयोजक कुशवाहाले बताइन् ।
बहुदरमाई नगरपालिकामा जिल्ला न्यायाधीश श्रेष्ठ पुग्दा न्यायिक समितिका संयोजक र सदस्यद्वयले स्वागत गरेका थिए । सो अवसरमा नगर प्रमुख सिंहासन साह , प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफा लगायतको उपस्थिति रहेको थियो ।