

वीरगन्ज ४ कार्तिक : प्रदेश २ सरकारले कर्मचारी भर्ना गर्न प्रदेश लोकसेवा आयोगलाई स्वीकृति दिएको तीनसाता बितिसकेको छ । असोजमा १२ बसेको प्रदेश मन्त्रिपरिषद बैठकले स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको लागि भर्ना लिन स्वीकृति दिएको थियो । तर, आयोगले अहिलेसम्म काम अघि बढाएको छैन । प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले सरकारले भर्ना गर्न भने पनि रिक्त दरबन्दी सम्बन्धी विवरण हालसम्म नबुझाएको बताए । रिक्त दरबन्दी सम्बन्धी विवरण आउनेवित्तिकै विज्ञापन प्रकाशन गरेर काम शुरु गर्ने उनले बताए । सरकारले स्वीकृति दिएपछि आफूहरु विज्ञापन प्रकाशन गर्न तयार रहेको बताउँछन् । प्रदेश सरकारका मुख्य सचिव अर्जुनप्रसाद पोखरेल भने रिक्त दरबन्दीको विवरण संकलन भइरहेको बताउँछन् । इन्जिनियरिङ सेवाको रिक्त दरबन्दीका लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य सेवाको रिक्त दरबन्दीको विवरण संकलन गर्न सामाजिक विकास मन्त्रालयलाई भनिसकिएको बताए । प्रदेशमा प्राविधिक इन्जिनियरिङ र स्वास्थ्यतर्फको कुल दरबन्दीमध्ये ४० प्रतिशत रिक्त रहेको पोखरेलको भनाइ छ । यद्यपी कुल दरबन्दीको संख्या पनि आफूहरु यकिन गरिरहेको उनले बताए ।