वीरगन्ज । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।
बाराको सिम्रौनगढ घर भएकी प्रीशा शाह वीरगञ्ज बस्दै आएकी थिइन् । शाह बिहीबार बेलुका ७ बजे कलेज होस्टेलमा मृत फेला परेकी हुन् ।
केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलमा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।
‘करिब साढे ७ बजे नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी थिइन्,’ नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सन्जिव शर्माले भने, ‘विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टले दूतावसलाई प्रारम्भिक विवरण जानकारी गराएको छ । थप बुझ्ने प्रयास भइरहेको छ ।’
गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।
आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् । त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो ।