पर्सा । पर्साको एक सामुदायिक विद्यालयले विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण गरेको छ ।
जिल्लाको पकाहाँमैनपुर गाउँपालिका –२ मधुबनीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सत्र २०८२ का लागि नयाँ पाठ्यपुस्तक वितरण गरिएको छ ।
लामो समयको शिक्षक आन्दोलनका कारण विद्यार्थीको पढाइ बिग्रने चिन्तासहित पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र सहनीले बताउनुभयो ।
शैक्षिक सत्र २०८१ मा सोही विद्यालयमा अध्ययनरत तथा कक्षा उत्तीर्ण भएका बालबालिकालाई पाठ्यपुस्तक वितरण गरिएको हो । शिक्षक महासङ्घको आन्दोलनका कारण लामो समय विद्यालय बन्द हुँदा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निजी विद्यालयमा रोक लगाई पठन पाठन सञ्चालन गरिएको अध्यक्ष सहनीले बताउनु भयो।
निजी विद्यालयहरुले गाउँगाउँ पुगेर सरकारी विद्यालयका विद्यार्थीलाई आकर्षित गर्न थालेपछि कार्यालय सहयोगी, शिक्षक र अभिभावकको सहयोगमा किताब वितरण गरिएको अध्यक्ष सहनीले जानकारी दिनुभयो । “शिक्षकका केही मागमा हामीले समर्थन गरेका छौँ, २१ दिनसम्म सहयोग गरिएको हो”, उहाँले भन्नुभयो, “अब विद्यालयलाई समस्या भएको छ, विद्यार्थी पलायन रोक्नका लागि र उनीहरू स्वअध्यनका लागि भए पनि किताब वितरण गरेका हौँ ।”
शिक्षक आन्दोलनका कारण नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानलगायत शैक्षिक गतिविधि प्रभावित बनेका छन् ।