गर्मीको मौसम प्रारम्भ हुनासाथ बजारदेखि भान्सासम्म ‘फलहरूको राजा’ आँपको भित्रिसकेको छ । स्वादिलो मात्र नभई स्वास्थ्यवर्धक मानिने आँपमा भिटामिन ए, सी, पोटासियम तथा एन्टि-अक्सिडेन्ट्स जस्ता पोषण तत्त्व पाइन्छन् । आँपको जुस, अचार अथवा पाकेको स्वरूपले नेपाली घर-घरमा विशेष स्थान ओगट्ने गरेको छ ।
तर चिकित्सकहरू भन्छन्— आँप सबैका लागि सुरक्षित छैन । आयुर्वेद र आधुनिक चिकित्सा विज्ञान दुवैका अनुसार केही विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिहरूका लागि आँप हानिकारक पनि हुनसक्छ । जसअनुसार यी छ प्रकारका व्यक्तिहरूका लागि आँप सेवन गर्नु उचित हुँदैन ।
१. मधुमेह (डायबिटीज)
आँपमा रहेको प्राकृतिक चिनी अर्थात फ्रुक्टोज र उच्च ग्लाइसेमिक इन्डेक्सका कारण मधुमेह भएका व्यक्तिका लागि यो फल जोखिमपूर्ण हुन सक्छ ।
२. पेट समस्या अथवा एसिडिटी
आँपको प्रकृति तातो मानिन्छ, त्यसैले जसलाई पहिल्यैदेखि ग्यास, एसिड रिफ्लक्स अथवा कब्जियतको समस्या छ, तिनीहरूका लागि आँप हानिकारक हुन सक्छ । यसले शरीरमा पित्त बढाउँछ, पेट पोल्ने, ग्यास अथवा वान्ता हुने जस्ता समस्या निम्त्याउन सक्छ । यदि तपाईं आँप खानै चाहनुहुन्छ भने केही घण्टा पानीमा भिजाएर खानु राम्रो हुन्छ, जसले यसको तातोपन केही कम गर्छ । साथै, आँपलाई दूध वा दहीसँग नखानुहोस्, यसले अपच गराउन सक्छ ।
३. छालामा एलर्जी वा एक्जिमा
आँपको बोक्रामा रहेको उरुशियोल नामक रसायनले एलर्जी, पोल्ने अथवा र्याशको समस्या उत्पन्न गर्न सक्छ । छालासम्बन्धी समस्या भएका व्यक्तिहरूले आँप राम्ररी तासेर मात्र सेवन गर्नु उपयुक्त हुन्छ ।
४. तौल घटाउने प्रयत्न
एउटा आँपमा करिब १५० क्यालोरी हुन सक्छ । यदि तपाईं तौल घटाउने डाइटमा हुनुहुन्छ भने यसले तपाईंको दैनिक क्यालोरी सीमा नाघ्न सक्छ । साथै, आँपले इन्सुलिन स्पाइक गराउन सक्छ, जसले शरीरमा बोसो जम्मा हुने प्रक्रिया तीव्र बनाउँछ । त्यसैले तौल घटाउन चाहने व्यक्तिहरूले सीमित मात्रामा, विशेषतः बिहानमा आँप खाँदा ठीक हुन्छ।
५. स-साना बालबालिका
स-साना बालबालिकाको पाचन प्रणाली नाजुक हुने भएकाले अत्यधिक आँप खाँदा पेट दुख्ने, पखाला लाग्ने अथवा वान्ता हुने जोखिम रहन्छ । त्यसैले एकदेखि तीन वर्ष उमेर समुहका बालबालिकालाई राम्ररी पाकेको आँप थोरै मात्रामा मात्र दिनु उपयुक्त हुन्छ।
६. मिर्गौला र कलेजोको समस्या
आँपमा पोटासियम र फ्रुक्टोजको मात्रा उच्च हुन्छ, जुन मिर्गौला वा कलेजोसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि हानिकारक हुन सक्छ । क्रोनिक किड्नी डिजिज अथवा फ्याटी लिभर भएका बिरामीहरूले आँप सेवन गर्नु अघि चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ ।