राजविराज । चर्को घाममा बिहीबार उच्च अदालत जनकपुर, राजविराज इजलासको मूल गेटमा भुइँमै बसेर फैसला पर्खिरहेका थिए, ४०/४५ जना सहकारीपीडित महिला । १२/१५ वर्षदेखि बचत गर्दै आएको रकम सहकारी संस्थाले अपचलन गरेपछि उनीहरु एक वर्षदेखि रकम पाउने आसले भौंतारिरहेका छन् ।
बिहीबार पनि बचत रकम अपचलन गर्ने सिरहाको लहान नगरपालिका–८ स्थित एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामपृत यादवको मुद्दा सुनुवाइ भइरहेको जानकारी पाएपछि हतारहतार गर्दै सिरहा र सप्तरीका विभिन्न ठाउँबाट भोको पेट नै उनीहरु राजविराज आएका थिए । तर, अदालतमा प्रवेश गर्न नदिएपछि उनीहरु साँझसम्म गेटमा भुइँमै बसे ।
‘१५ वर्षमा दुई गुणा रकम फिर्ता गर्ने भनेपछि हाम्रो समूहका ८ जनाले १२ वर्षदेखि बचत गर्दै आएका थिए तर एक वर्षअघि पारिवारिक समस्या पर्दा बचत रकम फिर्ता गर्नै मानेनन्,’ सप्तरीको बोदे बरसाइन नगरपालिका–१ सिस्वाकी ५५ वर्षीया जानकीदेवी मण्डलले भनिन्, ‘सुरुदेखि नै बचत नगर्न घरमा भनिरहेका थिए, पछि बचत रकम फिर्ता नदिँदा एक वर्षदेखि गाली खाएर घरमा बस्नुपरिरहेको छ तर बचत पाउने अझै टुंगो छैन ।’ एक वर्षअघिसम्म प्रतिव्यक्ति ५ सयदेखि २ हजार रुपैयाँसम्म मासिक बचत गरेको उनको भनाइ छ ।
शम्भुनाथ नगरपालिका–७ कठौनाकी ६० वर्षीया चेतनदेवी चौधरीले पनि ९ वर्षदेखि मासिक दुई सय ५० रुपैयाँ बचत गर्दै आएकी थिइन् । ‘बच्चाको नाममा पनि २५ वर्षका लागि थप २५ हजार रुपैयाँ फिक्स डिपोजिटमा राखेको थिएँ तर सहकारीले बचत रकम फिर्ता गर्न मानिरहेकै छैन,’ उनले भनिन्, ‘अहिले एक वर्षदेखि कहिले लहान त कहिले राजविराज दौडधुप गरिरहेको छु, अदालतले हामीजस्ता गरिबको बचत रकम दिलाउँछ होला भनेर यहाँ आएकी छु ।’
सुरुङा नगरपालिका–२ कमलपुरकी ४८ वर्षीया ललितादेवी रामले पनि १५ वर्षदेखि सो सहकारीमा बचत गर्दै आएकी थिइन् । ‘जो पनि गरिबैलाई ठग्छन्, पारिवारिक जिम्मेवारी पूरा गर्न मासिक थोरैथोरै (एक सय ५०) बचत गरे तर पैसा फिर्ता लिने बेलामा सहकारी नै डुब्यो भन्छन्, हामी त बेसहारा भयौं,’ उनले भनिन्, ‘पैसाको खाँचो छ, आफ्नै पैसा फिर्ता माग्दामाग्दै थाकिसकेँ, अब कहाँ जाने ?’
अदालतको फैसला पर्खिरहँदा ती सबै पीडित महिलाले आफ्ना समस्या सुनाउँदै सहकारीमा बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरिरहेकी थिए । उनीहरुका अनुसार ‘आजको बचत भोलिको सहारा’ भन्ने नारा दिएर आर्थिक वर्ष ०५७/०५८ मा स्थापना भएको सो सहकारीबाट २ हजार ५ सय बचतकर्ता ठगिएका छन् ।
सहकारीका अध्यक्षलाई ५ करोड धरौटी माग
बचत रकम फिर्ता नपाएपछि तीन सय ४९ जना पीडितले एभरेस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामपृत यादवविरुद्ध सहकारी ठगीसम्बन्धी जाहेरी दिएकी थिए ।
सोही जाहेरीअनुसार चलेको मुद्दामा २०८१ असोज १६ मा सिरहा जिल्ला अदालतले आदेश गर्दै यादवलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।
त्यसयता कारागारमा रहेका यादवले नेपाल सरकारलाई प्रतिवादी बनाएर २०८१ माघ २९ मा उच्च अदालत जनकपुर, राजविराज इजलासमा पुनरावेदन गरेका थिए । सोही मुद्दामा बिहीबार साँझ फैसला हुँदा सिरहा जिल्ला अदालतको आदेश बदर गरिएको छ भने अध्यक्ष यादवसँग ५ करोड रुपैयाँ धरौटी माग गरिएको अदालतका सूचना अधिकारी हरिशंकर महतोले जानकारी दिए ।
उच्च अदालतका न्यायाधीश कोशलचन्द्र सुवे र पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले सो फैसला गरेको हो । अध्यक्ष यादवले कुल ७ करोड ४० लाख ४० हजार ६ सय ९ रुपैयाँ बचत रकम अपचलन गरेको मिसिलमा उल्लेख रहेको छ । कान्तिपुर