वीरगञ्ज । ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साले विश्व रक्तदाता दिवसको अवसरमा वीरगञ्जमा विशेष सम्मान कार्यक्रमको आयोजना गरी रक्तदान गर्ने रक्तदाताहरू तथा रक्तदान कार्यक्रम आयोजना गर्ने संघ–संस्थाहरूलाई सम्मान गरेको छ।
कार्यक्रम वीरगञ्ज स्थित मकालु होटलको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका अध्यक्ष शत्रुघ्न नेपालले गरेका थिए भने प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम रहेका थिए।
कार्यक्रममा वीरगञ्ज–३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार विशेष रूपमा चर्चित बने। उनले बढ्दो गर्मीमा रक्तदान गर्न आउने व्यक्तिहरूलाई सहज वातावरण प्रदान गर्न रक्तसञ्चार केन्द्रमा डेढ टन क्षमताको एसी उपलब्ध गराउने घोषणा गर्दै रक्तदाताप्रति सम्मान प्रकट गरे। उनले भने, “रक्तदाताहरूको योगदान अमूल्य छ। उनीहरूको सेवा सहज बनाउने हाम्रो कर्तव्य हो।”
कार्यक्रमका प्रमुख अतिथि हरि गौतमले रक्तदानलाई सबैभन्दा ठूलो मानवसेवा भएको बताउँदै रक्तदाताहरूलाई “भगवानका दूत” को रूपमा सम्मान गरे। उनले रक्तदानमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै ब्लड डोनर्स एसोसिएसनलाई धन्यवाद दिए।
कार्यक्रमका अध्यक्ष नेपालले एसोसिएसनले अहोरात्र रगतको आवश्यकता परेका व्यक्तिहरूका लागि रक्तदाताको खोजी गर्दै निरन्तर सेवा गरिरहेको जनाउँदै, रक्तदाताहरूको योगदानप्रति सधैँ सम्मानजनक व्यवहार गरिनुपर्ने बताए। उनले उपस्थित सबैलाई रक्तदानको सन्देश फैलाउन आग्रह गरे।
कार्यक्रममा स्वागत मन्तव्य एसोसिएसनका सदस्य निशान्त लामिछानेले दिएका थिए भने सहजीकरण राजन श्रीवास्तवले गरेका थिए।
रक्तदानजस्तो जीवनदायी कार्यलाई प्रोत्साहन गर्न आयोजित यो कार्यक्रममा वडाध्यक्ष स्वर्णकारको सहानुभूतिपूर्ण घोषणाले रक्तदाताहरूमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।