पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. १ स्थित पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको जंगलमा खोलाको किनारमा मानव शरीरका विभिन्न अङ्गहरू फेला परको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार , नाम, थर र ठेगाना नखुलेको पुरुषको शरीरका अङ्गहरू उक्त स्थानमा फेला परेको छ ।
घटनास्थलमा मृतकको लुगा तथा अन्य सामानहरू समेत फेला परेका छन् , जसमा निलो रंगको जिन्स पाइन्ट , सेतो फूल प्रिन्ट भएको कालो बाहुला सर्ट , तथा अन्य केही कपडाहरू छन् । मृत शरीरका अङ्गहरू अत्यन्त विकृत अवस्थामा भेटिएको हुँदा पहिचान गर्न कठिन भएको पर्सा प्रहरीले जनाएको छ ।
शवको थप अनुसन्धान तथा पोस्टमार्टमका लागि नारायणी अस्पताल , वीरगञ्ज पठाइएको छ साथै घटनाबारे थप अनुसन्धान भइरहेको र घटनाको प्रकृति रहस्यमय रहेको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले मृतकलाई चिन्ने वा घटनाबारे जानकारी हुने जो–कोही व्यक्तिलाई कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।