पर्सा । पर्सा जिल्लामा सम्भावित विपदजन्य आगलागीका घटनाहरूलाई नियन्त्रण र न्यूनीकरण गर्नका लागि आज बिहान ९:३० बजे एक संयुक्त अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा वडा प्रहरी कार्यालय विर्ता, पर्सा र मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगञ्ज, पर्सा) को संयुक्त आयोजनामा ‘फायर एक्स्टिङ्गुइशर’ प्रयोग विधिको डेमोन्स्ट्रेसन तथा अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो।
उक्त अभ्यासमा जिल्ला प्रहरी कार्यालय पर्साबाट सइको कमाण्डमा २५ जना प्रहरी, वडा प्रहरी कार्यालय विर्ता पर्साबाट ७५ जना प्रहरी र मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म जनकपुर (हाल वीरगञ्ज, पर्सा) बाट जु.प्र.अ.को कमाण्डमा ४ जना गरी जम्मा १०४ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । साथै, स्थानिय नागरिकहरूको समेत सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य आगलागीको जोखिम न्यूनीकरण गर्नुका साथै विपद् व्यवस्थापनको तयारीलाई थप सशक्त बनाउन रहेको जनाइएको छ ।