काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ।
नियमित वार्षिक तालिका अनुसार एसईईको नतिजा असार पहिलो सातामै प्रकाशित हुने थियो। तर, गत चैत २० गतेदेखि करिब एक महिनासम्म शिक्षकहरू आन्दोलनमा उत्रिएकोले उत्तरपुस्तिका परीक्षण प्रक्रिया ढिलो भएको हो।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार, शिक्षकमार्फत भएको आन्दोलनका कारण परीक्षणको सुरुवात नै ढिला भएकोले असारको तेस्रो साताभन्दा अगाडि नतिजा प्रकाशित गर्नु सम्भव छैन।
‘२९ दिनसम्म शिक्षक आन्दोलनमा हुनु भयो, आउजाउ गर्नसमेत दुई दिन लाग्यो, त्यसैले परीक्षण प्रक्रिया ढिलो सुरु भयो’, डा. भट्टराईले जानकारी दिए।
उनका अनुसार हाल उत्तरपुस्तिका मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ। बोर्डले बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर तीव्र गतिमा परीक्षण कार्य अघि बढाएको छ।
‘केही जिल्लामा अझै पनि परीक्षण कार्य जारी छ। सबै उत्तरपुस्तिका परीक्षण सकिएपछि डेटा इन्ट्री र पुनः परीक्षण (रुजु) गरी नतिजा प्रकाशित गरिनेछ’, उनले बताए।
यस वर्षको एसईई परीक्षा चैत ७ गतेबाट सुरु भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड सुधारतर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए। कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको छ।