पर्सा । नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ता ज्यूको सिफारिसमा पर्सा क्षेत्र नं. ३ अन्तर्गत पोखरीया नगरपालिकाका विभिन्न वडामा बहुआयामिक विकास योजनाहरू अघि बढ्न सफल भएका छन्। यी योजनाले स्थानीय पूर्वाधारको विकाससँगै जनजीवन सहज बनाउने अपेक्षा गरिएको छ।
नगरवासीहरूले मन्त्री गुप्ताप्रति आभार प्रकट गर्दै भनेका छन्, “हाम्रो क्षेत्रको विकासमा उहाँले देखाउनु भएको सक्रियता सराहनीय छ। यो योजनाले जनताले धेरै वर्षदेखि पर्खिरहेको पूर्वाधार विकासको सपना साकार बनाउँदैछ।”
स्वीकृत योजनाहरू यसप्रकार छन्:
१. वडा नं. ९ चौकिया बैरिया–नौरङ्गिया नदीमा पक्की पुल निर्माण (हुलाकी सडक जोड्ने): रु. ३ करोड
२. वडा नं. ७ रहरिया र वडा नं. ८ जगतपुर जोड्ने धुतहा खोलामा पुल निर्माण: रु. ३ करोड
३. वडा नं. १ बनकटवा देखि वडा नं. ५ सतवरिया हुँदै सडक ढलान कार्य: रु. ३ करोड
४. वडा नं. २ नहरदेखि बसन्तपुर टोल हुँदै रामजानकी–फुलावरिया सडक स्तरउन्नति: रु. ३ करोड
५. सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत वडा नं. १–१० सम्म २१५ एकीकृत आवास निर्माण (२०८१/०८२ सम्झौता अनुसार) — भुक्तानी प्रक्रियामा
६. बार्वाघाट नौरङ्गिया खोलाको सुधार तथा पहुँच मार्ग निर्माण कार्य
“पर्सा क्षेत्र नं. ३ मेरा लागि केवल निर्वाचन क्षेत्र होइन, जिम्मेवारी हो। पोखरीया नगरपालिकाका जनताले देखाएको विश्वासलाई म परिणाममा बदल्न निरन्तर लागिरहेको छु। यी योजनाहरू स्थानीय विकास, रोजगारी र पहुँच विस्तारको आधार बन्नेछन्। आगामी दिनमा अझ बढी योजना ल्याउन प्रतिबद्ध छु,” मन्त्री गुप्ताले भने।
यस योजनाबाट पर्सा क्षेत्र नं. ३ का बासिन्दाहरूमा आशा र उत्साह थपिएको छ। स्थानीय सरकारले पनि मन्त्री गुप्ताको प्रयासलाई सकारात्मक ठहर गर्दै समयमै कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।