काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियामाथि न्यायपालिकामा हस्तक्षेप गरेको गम्भीर आरोप लगाउँदै उनको र न्यायाधीशहरूको कल डिटेल सार्वजनिक गर्न माग गरेका छन्।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले मन्त्री चौरसियाले विभिन्न मुद्दामा न्यायाधीशहरूमाथि प्रभाव पार्ने प्रयास गरेको दाबी गरे। “कसैको मुद्दा जिल्लामा छ भने जिल्लाको पहिलो नम्बरको न्यायाधीशलाई फोन गर्नुहुन्छ, उच्च अदालतमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ भन्ने सुनिन्छ,” सिंहले संसदमा भने, “त्यसैले म माग गर्छु, कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गरियोस्।”
सांसद सिंहले कानुनमन्त्री चौरसियाले संविधानविपरीत न्यायिक प्रक्रिया प्रभावित पार्न खोजेको आरोपसमेत लगाए। उनले भने, “न्यायिक सिफारिसका लागि न्याय परिषद् हो, कानुनमन्त्री होइन। जिल्ला न्यायाधीश त परिषद्को सदस्यसमेत हुँदैनन्। मन्त्रीले किन फोन गर्नुहुन्छ ?”
उक्त अभिव्यक्तिका क्रममा सिंहले आफूले बोलेको प्रमाणित नभए सांसद पद त्याग गर्न तयार रहेको चुनौतीसमेत दिए। “म माग गर्छु – कल डिटेल सार्वजनिक गरियोस्। यदि गलत भए म सांसद पदबाट राजीनामा दिन तयार छु,” उनले स्पष्ट रूपमा भने।
सांसद सिंहको अभिव्यक्तिले संसदभित्र कानुनमन्त्रीको भूमिकाबारे गम्भीर बहसको वातावरण सिर्जना गरेको छ भने न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि पनि पुनः प्रश्न उठेको छ।