पर्सा । बहुदरमाई नगरपालिकाको समग्र विकास, सेवा प्रवाहमा पारदर्शिता, शैक्षिक र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार तथा नागरिकको सशक्तीकरण गर्ने उद्देश्यले बहुदरमाई नगरपालिकाका नगरप्रमुख प्रत्यासी शिव प्रसाद पटेलले एक विस्तृत ध्यानाकर्षण पत्र नगर प्रमुखसमक्ष पेश गर्नुभएको छ। संविधान २०७२ ले प्रत्याभूत गरेको संघीय प्रणालीअन्तर्गत आठ वर्षदेखि सञ्चालनमा रहेको स्थानीय सरकार अझै पनि आधारभूत पूर्वाधारको अभावमा सञ्चालन भइरहेको उल्लेख गर्दै तत्काल आवश्यक सुधार र बजेट विनियोजनको माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा प्रशासनिक ढाँचादेखि शिक्षा, स्वास्थ्य, पारदर्शी सेवा वितरण तथा लक्षित वर्गका लागि कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने स्पष्ट रुपमा उल्लेख गरिएको छ।
प्रमुख मागहरू यस प्रकार छन्:
भौतिक पूर्वाधार
नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने।
वडा नं. २ र ६ मा कार्यालय भवन निर्माण आवश्यक।
शिक्षा
अन्य पालिकाको तुलनामा बहुदरमाईको शैक्षिक गुणस्तर कमजोर भएकाले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पाठ्यपुस्तकको समयमा आपूर्ति, दक्ष शिक्षकको व्यवस्थापन र प्राविधिक शिक्षाको प्रवर्द्धन गरिनुपर्ने।
माध्यमिक स्तरमा प्राविधिक विद्यालय स्थापनाको माग।
स्वास्थ्य
सरकारले तोकेको १५ शय्याको अस्पताल निर्माणको लक्ष्य अनुरूप बहुदरमाईमा अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिनुपर्ने।
सरकारी स्वास्थ्य संस्थाबाट गरिब, विपन्न र जनताको पहुँचभित्र सेवा सुनिश्चित गर्दै निःशुल्क औषधि वितरण कार्यक्रम सञ्चालन गर्नुपर्ने।
पारदर्शी वितरण प्रणाली
नगरपालिका मार्फत वितरण हुने सेवा, सामग्री वा अनुदानमा पारदर्शिता र एकरूपता कायम गर्नुपर्छ।
वितरण प्रणालीलाई जनमुखी र उत्तरदायी बनाउँदै गुनासो व्यवस्थापन प्रणाली निर्माण गर्नुपर्ने।
लक्षित वर्गका कार्यक्रम
युवाहरुलाई लक्षित गर्दै सीप विकास, स्वरोजगार प्रवर्द्धन र दलित, महिला तथा सीमान्तकृत समुदायलाई अनुदान र तालिम उपलब्ध गराउनु पर्ने।
कृषिमा आधारित आयमूलक कार्यक्रम जस्तै बाख्रा, गाई, माछा पालन, कृषि औजार वितरण तथा प्राविधिक सहायता उपलब्ध गराउनु पर्ने।
ध्यानआकर्षण पत्र बुझाउँदै नेता पटेलले
“बहुदरमाई नगरपालिका स्थापना भएदेखि अहिलेसम्मको कार्यकालमा जनताले अनुभूत गर्न सक्ने खालको ठोस उपलब्धि नभएकाले हामी जनताको हक, सेवा र विकास सुनिश्चित गर्न यो ध्यानाकर्षण पत्रमार्फत आफ्ना मागहरू प्रस्तुत गरेका हौं। स्थानीय सरकार जनताको ढोका–ढोका पुग्ने शासन प्रणाली हो भन्ने भावना अनुसार काम हुन आवश्यक छ। हामी योजनाबद्ध, समावेशी र पारदर्शी तरिकाले नगरको विकास गर्न प्रतिबद्ध छौं,” नगरप्रमुख प्रत्यासी पटेलले भन्नुभयो।
पत्रमार्फत नगरप्रमुखलाई जनताको प्रत्यक्ष सरोकारका विषयमा गम्भीर ध्यान दिन आग्रह गरिएको छ।