काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकको विषयलाई लिएर माओवादी केन्द्रले अनावश्यक रूपमा राजनीति गर्न खोजेको आरोप लगाएका छन्।
बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले निजामती विधेयकलाई अघि बढाउने विषयमा सरकार स्पष्ट रहेको र कुनै पनि अवरोध सिर्जना गर्ने योजना नरहेको प्रस्ट पारे। उनले भने, “सरकारकै पहलमा सो विधेयक समितिबाट छिटो पारित भएर संसद्मा आएको हो, अब यसमा अनावश्यक राजनीति गर्नु आवश्यक छैन।”
बर्तौलाका अनुसार प्रधानमन्त्रीले स्वयं उक्त विधेयकलाई छिटो पारित गर्ने वातावरण निर्माण गर्न निर्देशन दिइसकेकाले आशङ्का गर्नुको कुनै तुक छैन। उनले असार १५ गतेभन्दा अगाडि नै सम्बन्धित विभागीय मन्त्रीसँग छलफल गरी विधेयकलाई संसद्बाट अघि बढाइने दाबीसमेत गरे।
बजेट छलफललाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले अहिलेको अवस्था असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने भएकाले नियमित विधेयकलाई केही समयका लागि रोकिएको बताए।
बर्तौलाले स्पष्ट रूपमा जनाए, “निजामती विधेयक सामान्य प्रक्रिया अनुसार अघि बढिरहेको छ, यसमा बाधा पुर्याएर राजनीतिक फाइदा लिन खोज्नु प्रतिपक्षको गैरजिम्मेवार चरित्र हो।”