पर्सा । पर्सा जिल्लामा तस्करी गतिविधि नियन्त्रण गर्नुपर्ने जिम्मेवारी बोकेको प्रहरीले आफैं तस्करलाई संरक्षण गरेको तथ्यहरू सतहमा आउन थालेका छन् । स्थानीय स्रोतका अनुसार कुनै व्यक्तिले तस्करी भइरहेको सूचना प्रहरीलाई दिएपछि सोही सूचनाको आधारमा तस्करहरू उल्टै सतर्क हुने गरेका छन् ।
तस्करीको सूचना प्रहरीसम्म पुगेलगत्तै , केही मिनेटभित्रै तस्करहरू बाटो परिवर्तन गर्ने, मालसामान लुकाउने वा आफुलाई सुरक्षित बनाउने काममा लाग्ने गरेको देखिन्छ। यसले प्रहरी र तस्करबीच साङ्लो सम्बन्ध रहेको गम्भीर शंका उत्पन्न गराएको छ।
स्थानीय बासिन्दाहरूले बारम्बार सीमावर्ती क्षेत्रमा चलिरहेको राँगा लगायतका तस्करीको जानकारी दिएको भए पनि अपेक्षित कारबाही भएको छैन । बरु सूचनादातालाई नै पहिचान गरेर धम्की दिने प्रयास हुँदै आएको उनीहरूको आरोप छ ।
यस प्रकारको प्रहरीको उदासीनता र तस्करलाई चेतावनी दिने प्रवृत्तिले पर्सामा विधिको शासन र कानुनी संरचनामाथि प्रश्न उठाएको छ । सरोकारवालाहरूले तत्काल निष्पक्ष छानबिन गर्दै दोषी प्रहरी कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
यदि यथास्थितिमा सुधार नभए पर्सा जिल्ला तस्करीको खुला केन्द्रका रूपमा परिचित बन्ने खतरा दिनदिनै बढ्दै गएको देखिन्छ ।