रौतहट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आज रौतहट जिल्लाको गरुडा नगरपालिकाको १३औं नगरसभाको उद्घाटन गर्नु भएको छ।
नगरसभामा प्रमुख अतिथिको रूपमा मन्तव्य दिँदै मन्त्री गुप्ताले गरुडा नगरपालिकालाई प्रदेशकै नमुना नगरपालिका बनाउने अभियानमा सरकारको साथ सदैव रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्थानिय तहमा सुशासन, पारदर्शिता, विकास र समावेशी सहभागिता सुनिश्चित गर्न आवश्यक नीति तथा स्रोत साधन उपलब्ध गराउन संघीय सरकारले प्राथमिकता दिएको स्पष्ट पार्नुभयो।
"गरुडा नगरपालिकाले देखाएको योजनाबद्ध विकास र जनउत्तरदायी सेवा प्रवाह अरु नगरपालिकाका लागि पनि प्रेरणा बन्नेछ," मन्त्री गुप्ताले भन्नुभयो।
कार्यक्रममा नगर प्रमुखले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ६९ करोड २६ लाख १७ हजारको बजेट विनियोजन गरिएको जानकारी गराउनु भयो। बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, कृषिमा आधुनिकीकरण, तथा महिला, बालबालिका र वृद्धजन लक्षित कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरिएको छ।
कार्यक्रममा संघीय सांसद, प्रदेशसभा सदस्य, जनप्रतिनिधि, सरोकारवाला निकाय, नागरिक समाज तथा स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।