बारा । परवानीपुर गाउँपालिकाको १६औँ गाउँसभा सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ।
गाउँपालिकाकी उपाध्यक्ष सुगन्धी देवी कनुईनको आग्रहमा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बजेट प्रस्तुत गरेका थिए। सभामा अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षता रहेको थियो।
बजेट प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत रौनियारले समावेशी र समन्यायिक विकासलाई लक्ष्य गरेर बजेट तयार गरिएको जानकारी दिए। उनले विकास निर्माणका योजनासँगै मानव विकासका सूचकहरूमा सुधार ल्याउने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको उल्लेख गरे।
सभामा अध्यक्ष कुर्मीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सुरक्षा तथा युवा र महिलामुखी कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइने स्पष्ट पारे। उनले नागरिकको जीवनस्तर उकास्न योजनाबद्धरूपमा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।