वीरगन्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरीको आरोपमा एक युवकलाई चोरी गरिएको सवारीसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट फतुवाबिजयपुर–८ स्थायी घर भई हाल बाराको बारागढी गाउँपालिका–८ बस्ने २७ वर्षीय छोटेलाल सहनी रहेका छन्।
प्रहरीका अनुसार सहनीले असार ७ गते साँझ करिब ५ बजे वीरगन्ज महानगरपालिका–९, रानीघाटस्थित शंकर प्रसाद तेलीको घर अगाडि पार्किङ गरिएको २०० सिसी क्षमताको एनएस मोटरसाइकल (मधेश प्रदेश–०३–०३६ प ८५१७ नम्बर) चोरी गरेका थिए।
तेलीले सार्वजनिक ढलान सडकमा पार्किङ गरेको अवस्थामा मोटरसाइकलको ‘लक’ तोडेर सहनीले चोरी गरेका थिए। तर, चोरीको प्रयासले लामो समय सफल हुन पाएन। उनले मोटरसाइकल डोर्याउँदै लगिरहेको देखेपछि करिब ४० मिटर परमै पक्राउ परेका हुन्।
पक्राउ परेका सहनीमाथि चोरीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीले चोरी जस्ता आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन गम्भीरता साथ निगरानी र कारबाही जारी राख्ने जनाएको छ।