बारा । बाराको देवताल गाउँपालिकाको १४औं गाउँ सभा भव्य रुपमा सम्पन्न भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ३८ करोड ८५ लाख ९९ हजार ८ सय ५६ को बजेट सार्वजनिक गरेको छ।
सभामा प्रस्तुत बजेट समावेशी, दिगो विकासमुखी र स्थानीय आवश्यकता सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “विकासका पूर्वाधार बलियो बनाउँदै शिक्षासँगै स्वास्थ्य, कृषि, खानेपानी, ऊर्जा तथा रोजगारीमुखी कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणालीलाई अझ प्रभावकारी बनाउँदै गाउँपालिकाको सेवा प्रवाह जनमैत्री र सहज बनाउने हाम्रो लक्ष्य हो।”
गाउँ सभामा शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, युवासशक्तीकरण, लघु तथा घरेलु उद्योग प्रवर्द्धन लगायतका क्षेत्रमा विशेष ध्यान दिइएको बजेट विवरण प्रस्तुत गरिएको थियो।
सभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय, कर्मचारी तथा स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो।
देवताल गाउँपालिका अध्यक्ष तथा गाउँ सभाका अध्यक्ष उदय प्रसाद यादवको अध्यक्षतामा सम्पन्न गाउँ सभाले आगामी वर्षका नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै अनुमोदन गरेको हो ।