पोखरीया । भूमि सुधार तथा मालपोत कार्यालय पोखरीयाले सेवा प्रवाहमा उल्लेखनीय सुधार गर्दै नागरिकलाई छिटोछरितो र पारदर्शी सेवा प्रदान गरिरहेको छ । कार्यालय प्रमुख रामजी साहका अनुसार कार्यालयले डिजिटल प्रणालीको उपयोग गर्दै सेवाग्राहीको समय, श्रम र खर्च बचत गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
प्रमुख साहले भने, “हामी नागरिकको सहजता र सन्तुष्टिलाई प्राथमिकता दिंदै सेवा दिन प्रतिबद्ध छौं । नियमित अनुगमन, समयमै सेवा प्रवाह र कर्मचारीको उत्तरदायित्वबोधले हाम्रो सेवा प्रभावकारी भएको छ ।”
उनका अनुसार लालपुर्जा वितरण, नामसारी, कित्ताकाट, धनीपुर्जा अभिलेखन लगायतका सेवाहरू निर्धारित समयमै निष्पादन हुँदै आएका छन् । डिजिटल अभिलेख व्यवस्थापन प्रणालीले फाइल खोज्ने झन्झट हटाएको र सुविधा समेत उपलब्ध गराइएको उनले जानकारी दिए ।
सेवाग्राहीहरुले समेत पोखरीया मालपोत कार्यालयको सेवा प्रणालीप्रति सन्तोष व्यक्त गर्दै समयमै काम सम्पन्न हुने र कर्मचारीको व्यवहार सकारात्मक रहेको बताएका छन् ।
मालपोत कार्यालय पोखरीयाले आगामी दिनमा प्रविधिमैत्री सेवा प्रवाहलाई थप सुदृढ गर्दै नागरिकमैत्री प्रशासनको नमुना प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।