महोत्तरी, बर्दिबास । मधेश प्रदेश सरकारअन्तर्गतको युवा तथा खेलकुद मन्त्रालयबाट बर्दिबास नगरपालिका वडा नं ३ गौरीडाँडामा नव निर्मित खुल्ला मञ्च तथा खेलकुद मैदानको एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल रहनु भएको थियो।
उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री जयसवालले मधेश प्रदेशका सबै रङ्गशालाहरूको व्यवस्थापन र निर्माण कार्यमा सरकार दृढ रहेको बताउनु भयो। उहाँले भन्नुभयो, "पर्साको वीरगञ्जस्थित नारायणी रंगशाला, जनकपुरस्थित जानकी रंगशालालगायत प्रदेशभर रहेका अधुरा संरचनाहरूको कागजी प्रक्रिया अगाडि बढिसकेको छ, अब छिट्टै भौतिक निर्माण तथा पूर्वाधार विस्तारमा तीव्रता दिइनेछ।"
मन्त्री जयसवालले युवा शक्ति र खेलकुदको माध्यमबाट समाज रूपान्तरण सम्भव हुने बताउँदै स्थानीय तहसँग सहकार्यमा प्रदेश सरकारले खेल क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो।
कार्यक्रमको अध्यक्षता खेलकुद मैदान निर्माण कार्य समितिका अध्यक्ष ललिता बुढाथोकीले गर्नुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख प्रल्लाद क्षेत्री, अतिथि वडा अध्यक्ष विराट कुमार बिष्टसहित स्थानिय जनप्रतिनिधि, बुद्धिजीवी, युवा, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा खेलकुद गतिविधिको प्रवर्द्धन गर्न र युवाहरूलाई सशक्त बनाउने उद्देश्यले निर्माण गरिएको उक्त मैदानले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
स्थानीयबासीहरूले यो पूर्वाधारलाई दीर्घकालीन रुपमा संरक्षण र सदुपयोग गर्न प्रतिबद्धता जनाएका छन्।