झुटा विवरणमा नागरिकता लिई अवैध कारोबारमा संलग्न एकैघरका सात भारतीय नागरिक सार्वजनिक
पर्सा , असार १२ । भारतको बिहार राज्य अन्तर्गत आदापुर क्षेत्रका स्थायी बासिन्दा एकैघरका सात जना भारतीय नागरिकले झुटा विवरण पेश गरी नेपाल सरकारका केही कर्मचारीहरुसँगको मिलेमतोमा नेपाली नागरिकता लिएको खुलासा भएको छ ।
रामनाथ साह सोनार, उनकी श्रीमती कान्ति देवी, शम्भु साह सोनार, उनकी श्रीमती पार्वती देवी, गोपालप्रसाद सोनार, रामनरेश साह सोनार (भारतमा बच्चा साहका नामले परिचित) तथा उनकी श्रीमती मञ्जुदेवी सोनारले पर्सा जिल्लाको साविक बगही गाविस वडा नं. ३ हाल वीरगञ्ज महानगरपालिका वडा नं. २८ लाई स्थायी ठेगाना देखाई नागरिकता प्राप्त गरेका हुन्।
नागरिकता प्राप्त गरेपछि उनीहरु सुनचाँदी तस्करी, अवैध रुपैंया कारोबार, हुण्डी, लागुऔषध कारोबार जस्ता विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहँदै आएका छन्। ती अवैध गतिविधिबाट उनीहरुले अकुत सम्पत्ति आर्जन गरेका छन् भने भारत र नेपाल दुवै देशमा आपराधिक छविका रूपमा चिनिँदै आएका छन्।
भारतको बिहारस्थित मोतीहारी अदालतमा उनीहरूमाथि एकभन्दा धेरै आपराधिक मुद्दा दर्ता भएको तथ्य फेला परेको छ। नेपालमा रामनरेश साह सोनारको नामले नागरिकता लिएका बच्चा साहले वीरगञ्जको माईस्थान क्षेत्रमा “जय माँ दुर्गे ज्वेलर्स”, “माँ दुर्गे मनि चेन्जर” तथा “माँ दुर्गे मनि ट्रान्सफर” नामक संस्थाहरू सञ्चालन गरी ती व्यवसायको आडमा अवैध धन्दा सञ्चालन गर्दै आएका छन्।
यसैगरी रामनाथ साह सोनार र उनका छोरा सन्दीप सर्राफ “आर. के. एण्ड सन्स” नामक सुनचाँदी पसलको आवरणमा तस्करी तथा हुण्डीको कारोबारमा सक्रिय छन्। उनीहरु विरुद्ध लागुऔषध (खैरो हेरोइन) कारोबार सम्बन्धी मुद्दा हाल चितवन जिल्ला अदालतमा विचाराधीन रहेको पाइएको छ।
जिल्ला प्रशासन कार्यालय, पर्सामा उनीहरु विरुद्ध दोहोरो नागरिकताको उजुरी दर्ता भइसकेको छ भने नागरिकता छानबिनका लागि गृहमन्त्रालयमा सिफारिस समेत भइसकेको तथ्य पनि सार्वजनिक भएको छ। त्यसैगरी, सम्पत्ति शुद्धीकरण विभाग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनीहरूमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
उनीहरू अहिलेसम्म निर्वाध रूपमा अवैध कारोबारमा सक्रिय रहँदै आएको तथा सम्बन्धित निकायको उपेक्षा र लापरवाहीले उनीहरूको आपराधिक सञ्जाल झनै बलियो बन्दै गएकोमा स्थानीयस्तरमा चिन्ता व्यक्त गरिएको छ।
सम्बन्धित सरकारी निकायहरूद्वारा तत्काल कारबाहीको माग
सार्वजनिक भइसकेका प्रमाणहरूका आधारमा सम्बन्धित निकायहरूद्वारा ती विदेशी नागरिकहरू विरुद्ध तत्काल कारबाही गरिनु पर्ने माग चुलिँदै गएको छ। नेपालको कानुनविपरीत झुटा विवरणमा नागरिकता लिई अवैध धन्दा सञ्चालन गर्नु गम्भीर राष्ट्रघाती कार्य भएको भन्दै देशभक्त नागरिक समाज, सञ्चारमाध्यम तथा स्थानीयवासीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली नागरिकता लिएका भारतीय नागरिकहरुले सञ्चालन गरेको व्यवसाय

