बर्दीबास । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले वातावरण संरक्षण र जलवायु अनुकूलनका लागि ऐक्यबद्ध भएर अगाडि बढ्न स्थानीय समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले चुरे र वनजङ्गलको संरक्षण गर्ने प्रमुख अभियन्ता समुदाय भएकाले यसका लागि अरूको भर नपरी समुदाय नै अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । सामुदायिक वन उपभोक्ता महासङ्घ मधेश प्रदेशको सहकार्यमा प्रदेश वन निर्देशनालय मधेश प्रदेशले सोमबार बर्दीबासमा आयोजना गरेको ‘सामुदायिक वनसम्बन्धी कार्यशाला’ गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्याशाला गोष्ठीले १५ बुँदे ‘बर्दीबास घोषणापत्र २०८२’ समेत जारी गरेको छ ।

मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेले जलवायु परिवर्तनले मौसम र वातावरणमा चुनौती थपिरहेका बेला सबैले मन, वचन र कर्मले वन तथा वातावरण संरक्षणका लागि अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । आयोजक प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथप्रसाद जयसवालले वनजङ्गलको संरक्षणका लागि मन्त्रालयदेखि निर्देशनालय, साझेदारी र सामुदायिक वनसम्मका सम्पूर्ण सङ्घ संस्था र निकायबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी मिलाएर अगाडि बढ्नु पर्छ । गुनासो र आरोप प्रत्यारोपले लक्ष्य हासिल गर्न सकिँदैन ।” गोष्ठीमा फेकोफन मधेश प्रदेशका अध्यक्ष सोम शर्मा, सामुदायिक वन उपभोक्ता समितिकी कोषाध्यक्ष राजकुमारी चौधरी, फेकोफन सिराहाका अध्यक्ष चन्देश्वर साहलगायतले सामुदायिक वनमा विद्यमान समस्या, चुनौती र विसङ्गति समाधानका लागि वन मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
बर्दीबास घोषणापत्र जारी
गोष्ठीका सहभागीले वन संरक्षणमा केन्द्रित रही ‘बर्दीबास घोषणापत्र २०८२’ समेत जारी गरेको छ । १५ बँुदे घोषणापत्रमा सामुदायिक वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि, वनमाथि सामुदायिक अधिकार स्थापना, संरक्षण संवर्धन, दिगो व्यवस्थापन, समावेशीकरण, जीविकोपार्जनमा सुधार, हरियाली अभिवृद्धि, वनको हैसियत सुधारलगायत विषय समेटिएका छन् । बयासी हजार ११२ हेक्टर वन क्षेत्र रहेको मधेश प्रदेशमा ५४५ सामुदायिक वन र १४ वटा साझेदारी वन रहेको जनाइएको छ ।