वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीले वातावरण संरक्षणको अभियानलाई सशक्त बनाउँदै नेपाल पत्रकार महासंघ पर्सा शाखालाई २० थान गम्ला हस्तान्तरण गरेको छ। क्लबकी नवनिर्वाचित अध्यक्ष सुशीला साहको नेतृत्वमा हालै गठन भएको कार्यसमितिको यो पहिलो सामाजिक पहल हो।
महासंघको सभा हलमा आयोजित कार्यक्रममा अध्यक्ष साहले समाजमा हरियाली कायम राख्न साना साना प्रयासहरू पनि महत्वपूर्ण हुने बताउँदै सञ्चारकर्मीहरूलाई आगामी दिनमा यस्ता अभियानहरूमा साथ दिन आग्रह गरिन्।
"हरियो वातावरण हाम्रो साझा जिम्मेवारी हो। क्लब सामाजिक उत्तरदायित्वमा अझै सक्रिय बन्नेछ," – अध्यक्ष साहको भनाइ थियो।
कार्यक्रम नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। महासंघका सचिव विजय महतो, सहसचिव अजय चौरसिया, कार्यसमिति सदस्य अजित भुजेल, रितेश झा, आरोहण साहलगायत पत्रकारहरू र महासंघ पदाधिकारीहरू उपस्थित थिए।
यस्तै, क्लबका अन्य पदाधिकारी र विभिन्न लायन्स क्लबका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रह्यो। सहभागी वक्ताहरूले क्लबले देखाएको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्दै भविष्यमा पनि यस्ता सकारात्मक अभियानलाई निरन्तरता दिन सुझाव दिएका थिए।