पर्सा । ठोरी गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्ने कार्य बुधबार बाट शुरु भएकोछ।पालिकालाई साक्षर घोषणा गर्नु पूर्व वडाहरुलाई साक्षर घोषणा गर्नुपर्ने हुँदा आज ठोरीको १,२ र ३ नम्बर वडालाई साक्षर वडा घोषणा गरिएको छ।
आज बिहान वडा नम्बर २ मा आयोजित साक्षार वडा घोषणा कार्यक्रममा वडाध्यक्ष अमृत कृष्ण सापकोटाले वडा नम्बर २ लाई साक्षर वडा घोषणा गरे।त्यस्तै वडा नम्बर १ मा आयोजित कार्यक्रममा वडाध्यक्ष धनमान थापा मगरले वडा नम्बर १ लाई साक्षार वडा घोषणा गरे भने वडा नम्बर ३ मा आयोजित कार्यक्रममा वडाध्यक्ष शम्भु खड्काले वडा नम्बर ३ लाई साक्षर वडा घोषणा गरे।
भोलि वडा नम्बर ४ र ५ को घोषणा हुने ठोरी गा पा शिक्षा शाखा प्रमुख भुपाल जोशीले जानकारी दिए। पाँच वटा वडालाई साक्षार घोषणा गरे लगत्तै ठोरी गाउँपालिकालाई साक्षार घोषणा गर्ने तयारीमा पालिका लागेको जोसीले बताए। हालसम्म मधेस प्रदेशका ६ वटा पालिका यस अघि घोषणा गरिएको र अब ठोरी साक्षार घोषणा भएसँगै सातवटा हुने छ भने पर्सा जिल्लाको पहिलो साक्षर पालिका ठोरी हुनेछ। साक्षर पालिका घोषणा गर्न ठोरी गाउँपालिका र आसमान नेपालको समन्वयमा प्रत्येक घरमा पुगी सर्वेक्षण गरी पालिकालाई प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन अनुसार ठोरीमा 98 प्रतिसत व्यक्ति साक्षार पाइएको थियो।सोही अनुसार घोषणा गर्न लागिएको शिक्षा साखा प्रमुख जोसीले बताए ।प्रत्येक वडाका अलगअलग कार्यक्रममा शिक्षाशाखा प्रमुख जोशीले साक्षार हुनका लागि आवस्यक पर्ने १२ वटा सूचिको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा प्रतीक दैनिकका सम्पादक गोबिन्द प्रताप श्रेष्ठले साक्षर पालिका हुनुको फाइदा बारे प्रष्ट पारेका थिए।
कार्यक्रममा प्रत्येक वडाका जनप्रतिनिधिहरु, आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया,सामुदायिक विद्यालयका वि व्य स का पदाधिकारीहरु,शिक्षक अभिभावकसंघका पदाधिकारीहरु,प्रधानाध्यापकहरु,विद्यार्थीहरु र बुद्धिजीवीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो। वडापालिका साक्षर घोषणा कार्यक्रमको सहजीकरण सन्चारकर्मी चिरञ्जीवी सापकोटाले गरेका थिए।