पर्सा । पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५, प्रसौनी भाठाका एक स्थानीय साहुले आफूले दिएको ऋण फिर्ता नपाएको गुनासो गर्दै न्यायिक प्रक्रिया अवलम्बन गर्न थालेका छन्। साहुका अनुसार उनले मानवीय आधारमा आर्थिक अभावमा परेका केही स्थानीय व्यक्तिहरूलाई पटक–पटक गरी करिब ९ लाख रुपैयाँ ऋण प्रदान गरेका थिए।
“कसैको दुःखमा साथ दिने उद्देश्यले ऋण दिएको हुँ,” साहुले बताए, “तर अहिले पैसा फिर्ता माग्दा धम्की आउने, अपमान हुने अवस्था छ, जुन निकै दुःखद छ।”
साहुका अनुसार उनले सुरुमा आपसी समझदारीमा पैसा दिएका थिए र केही कानुनी कागजातसमेत तयार गरिएको थियो। तर पछिल्लो समयमा ऋणीहरूले पैसा फिर्ता गर्न नमानेपछि कानुनी बाटो रोज्न बाध्य भएको बताइएको छ।
"धन कमाउनभन्दा पनि विश्वास गुम्नु ठूलो घाटा हो," साहु भन्छन्, “मैले आफूले मेहनत गरेर कमाएको पैसा ऋण दिएको हुँ। अहिले त्यो पैसा फिर्ता नपाउनु मात्रै होइन, मानसम्मानमा समेत आँच आउन थालेको छ।”
साहुको भनाइ अनुसार उनले कुनै बलजफ्ती नगरी स्थानीय समाजको सम्मान गर्दै पटक–पटक सहमति र समाधानको पहल गरेका थिए। तर त्यसबाट समाधान नभएपछि मात्र न्यायिक सहायताको बाटो रोजिएको हो।
स्थानीय समाजका अगुवा तथा बुद्धिजीवीहरूले यो विषयलाई शान्तिपूर्ण र न्यायपूर्ण ढंगबाट समाधान गर्न दुवै पक्षलाई संयमित र जिम्मेवार बन्न आह्वान गरेका छन्। समाजमा आपसी विश्वास र मेलमिलापको संस्कार जोगाउन यस्तो विवाद समाधान गर्न संवाद नै उत्तम विकल्प हो भन्ने विश्वास पनि व्यक्त गरिएको छ।